पुस २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अवको एक महीनापछि नयाँ सामाजिक सञ्जाल ट्रूथ सोशल सार्वजनिक गर्ने तयारी गरेका छन् ।
ट्वीटर, फेसबुक, युट्युवले आफूलाई प्रतिबन्ध लगाएपछि ट्रम्पले सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । ‘ट्रुथ सोशल’ नामको सामाजिक सञ्जाल फेब्रुअरीमा सार्वजनिक गर्ने तयारी भइरहेको खवर त्यहाँका समाचार एजेन्सीहरुले सार्वजनिक गरेका हुन् । एप्पलको एप स्टोरमा ‘प्रि-अर्डर’ अर्थात् चाँडै नै सार्वजनिक हुने एपको सूचीमा ‘ट्रुथ’ आइसकेको छ ।
गत वर्ष ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि ट्विटर,युट्युव र फेसबुकजस्ता कम्पनीहरुले उनलाई आफ्नो खाता सञ्चालन गर्नबाट निलम्बित गरेका थिए । ट्वीटरले भने उनलाई स्थायी रुपमा आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइसकेको छ भने फेसबुकले सन २०२३ सम्म प्रतिबन्ध लगाएको छ । उता युट्युवले भने अनिश्चित समयका लागि ट्रम्पलाई प्रतिबन्ध लगाएको छ ।
यसपछि उनले आफ्नै सामाजिक सञ्जालको प्लेटफर्म शुरु गर्ने घोषणा गर्दै सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारी गरेका हुन् । उनको लगानी रहेको ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप (टीएमटीजी) ले समाजिक सञ्जालसँगै भिडिओ स्ट्रीमिङ सेवा पनि शुरु गर्ने बताएको छ।
ट्रम्पले यसअघि एउटा बक्तव्यमार्फत ट्रूथ सोशल नामक सामाजिक सञ्जालले ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने र तिनले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको आरोप लगाउँदै कडा आलोचना गरेका थिए ।एजेन्सी