एप्पलका सीईओले बुझे करीब १० करोड डलर तलबभत्ता


     नेपालय न्युज,     
     पुष २५ गते २०७८


सन फ्रान्सिस्को (अमेरिका) । बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) टिम कुकले आर्थिक वर्ष २०२१ मा करीब १० करोड अमेरिकी डलर अर्थात् ११ अर्ब ८३ करोड रुपैयाँं तलबभत्ता बुझेका छन् ।

कम्पनीले यूएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) लाई बुझाएको फाइलिङले यस्तो देखाएको हो । फाइलिङ अनुसार सो अवधिमा कुकले ९ करोड ८७लाख ३० हजार डलर तलबभत्ता बुझेका छन् । उनले पाएको सो तलबभत्ता कम्पनीका औषत कर्मचारीहरुले पाएको भन्दा १ हजार ४४७ गुणा बढी हो ।

गत आवमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई औसत ६८ हजार २५४ डलर तलवभुक्तानी दिएको छ । अघिल्लो वर्षको तलबभुक्तानी ५७हजार ७८३ डलर थियो । गत साता मात्रै कम्पनीको बजार पूँजीकरण ३० खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो ।

विगत दुई वर्षदेखि आइफोन तथा अन्य प्रडक्टको माग बढ्दै गएकाले कर्मचारीसँगै सीईओको तलब सुविधा पनि बढेको कम्पनीलाई उद्धृत गर्दै सीएनबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

समाचार अनुसार कुकले तलब मात्रै ३० लाख डलर लिएका छन् । कम्पनीको वित्तीय र वातावरणीय स्थायीत्व लक्ष्य पूरा गरे बापत उनले थप १ करोड २० लाख डलर पाएका छन् । व्यक्तिगत हवाई यात्रा, निजी सुरक्षा, बीमा प्रिमियमलगायत अन्य सुविधा बापत करीब १४लाख डलर थापेका छन् । ८ करोड २३ लाख डलर भने स्टक अवार्डमा पाएका छन् ।

अतिरिक्त कर कटाएर समग्रमा उनले २०२१ मा ९ करोड ८७ लाख डलर आम्दानी गरेका छन् । उनी कम्पनीमा २०११ को अगस्टबाट कार्यरत छन् । सन् २०१८ को अगष्ट यता कम्पनीको बजार पूँजीकरण तेब्बर भएको छ । त्यतिबेला पहिलो पटक बजार पूँजीकरणले १० खर्ब डलरको स्तर पार गरेको थियो ।

कोरोना भाइरसको महामारी बीच रिमोट लर्निङ र टेलिवर्क उपकरणको उच्चमाग बीच आइफोन र ल्यापटपको विक्री तीव्र दरमा बढेसँगै कम्पनीको शेयरमूल्य बढेको छ । बजार पूँजीकरण सन् २०२० को अगष्टमा २० खर्ब डलरमाथि उक्लियो ।

संगित वितरणलगायत अन्य व्यवसायमा सुदृढ प्रदर्शनले पनि कम्पनीको वृद्धिलाई टेवा दिएको हो ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com