
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन नहुने जानकारी दिएका छन् । तर यसका लागि उनले एउटा शर्तसमेत राखेका छन् । उनका अनुसार मानिसले मास्क लगाए लकडाउन लगाइने छैन ।
केजरीवालले आइतबार सोसल मिडियामार्फत् यसबारे कुरा गरेका छन् । यसका साथै उनले आफ्नो स्वास्थ्य स्थितिबारे पनि जानकारी दिए । उनले आफू कोरोनाभाइरसको संक्रमणबाट निको भइसकेको पनि बताएका छन् ।
उनले भने, ‘७–८ दिन म होम हाइसोलेशनमा बसेँ । तपाईंहरुले प्रार्थना गरिदिनुभयो, त्यसका लागि धन्यवाद । मलाई दुई दिन ज्वरो आएको थियो, त्यसपछि म निको भएँ । म तपाईंहरुको सेवामा पुनः हाजिर छु ।’
उनले दिल्लीमा कोरोनाको स्थितिबारे कुरा गर्र्दै भने, ‘दिल्लीमा कोरोनाको गती तीब्र रुपमा बढिरहेको छ, त्यसको विषयमा म चिन्तित थिएँ र सबै अधिकारीसँग सम्पर्कमा थिएँ । आज बेलुका २२ हजार कोरोना संक्रमित भेटिन सक्छन् । तीब्र रुपमा संक्रमित बढिरहेका छन् तर डराउनुपर्ने कुरा छैन । यो म आँकडाको अध्ययनको आधारमा भनिरहेको छु ।’
‘पछिल्लो लहरमा अघिल्लो वर्ष ७ मेमा २० हजार संक्रमित भेटिएका थिए र ३४१ जनाको मृत्यु भएको थियो तर हिजो जब २० हजार संक्रमित भेटिए तब ७ जनाको मृत्यु भयो । यो लहरमा कम मृत्यु भइरहेको छ । मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने अवस्था कम छ ।’
‘डराउनु पर्दैन तर जिम्मेवारीका साथ काम भने गर्नुपर्छ । मास्क लगाउन असाध्यै जरुरी छ । हामी लकडाउन लगाउँदैनौँ यदि तपाईंहरुले मास्क लगाउनुहुन्छ भने । दिल्लीमा लकडाउन लगाउने कुनै योजना छैन । मानिसको रोजगार चल्न सकोस् भनेर निकै कम प्रतिबन्ध लगाउने हाम्रो कोसिस छ ।’
‘अघिल्लो वर्ष अप्रिलमा हामीले कोरोनाको लहर पार गरेका थियौँ, यसपटक पनि पार गर्नेछौँ । धेरैभन्दा धेरैले कोरोनाको भ्याक्सिन लगाउनुहोस्,’ उनले भने । एजेन्सी