प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीसहित को को परे ‘कन्ट्याक्ट ट्रेसिङ’मा?


     नेपालय न्युज,     
     पुष २४ गते २०७८


काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बस्नु भएको छ । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बस्नु भएको हो । उहाँको कोरोना परीक्षण आइतबार हुने भट्टले जानकारी दिनुभयो

शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नु भएको हो । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै बस्नु भएको थियो ।

आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा वार्ता गर्नुभएको थियो ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ल, सुमन देवकोटा, सुबोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डे कोरोना संक्रमण भएको छ ।

यसैबीच प्रचण्ड शुक्रबार मात्र प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए।

जसमा प्रधानमन्त्री शेरबहादुर देउवासहित समितिका संयोजकसमेत रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,  कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए। प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूसहित सहभागी सबै नेता कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। 

WP2Social Auto Publish Powered By : XYZScripts.com