
पोखरा ।
सन्तोष अधिकारी अभिनित ‘आज म आइपुगे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सन्तोष सँगै पुजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीको अभिनय रहेको छ । सुरज शाही ठकुरीको आवाज रहेको गीतलाई अजय कुमार अधिकारीले लेखेका हुन् । संगीत समेत अजय कै हो ।
गीतको म्युजिक भिडियोमा नेपाली लाहुरेको प्रेमिल कथालाई प्रस्तुत गर्न खोजिएको छ । एएसएपी इन्टरटेन्मेन्टको प्रस्तुतीमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निशान कास्यपले निर्देशन गरेका हुन् । एएसएपी इन्टरटेन्मेन्ट पछिल्लो समय म्युजिक भिडियो निर्माण र फ्यासेन शो लगायतका कार्यक्रमको आयोजनामा सक्रियता पूर्वक लागि रहेको संस्था हो ।
पोखराबाट संचालनमा आएता देश तथा विदेशमा एएसएपीले आफ्ना कार्यक्रम गर्दै आएको छ । नेपाली संस्कार र भेषभूषालाई प्रचारप्रसार गर्ने हेतुले एएसएपी इन्टरटेनमेन्ट लागिरहेको छ । वर्षेनी सो विषयमा केन्द्रीत रही ‘हेरीटेज फ्यासन शो’ को समेत आयोजना एएसएपीले गर्दै आइरहेको छ । नेपाली चलचित्र घर, आमामा एएसएपीले सह—निर्माताको रुपमा प्रस्तुत भएको थियो । चलचित्र तीन जन्तुमा समेत एएसएपीले लगानी गरेको छ । आमा सफलता पूर्वक प्रदर्शन भएको चलचित्र हो ।
‘आज म आइपुगे’ म्युजिक भिडियोबाट सन्तोष अधिकारी आशावादी देखिन्छन् । भन्छन्, ‘यो नेपाली लाहुरेहरुको प्रेमको कथा हो । प्रेमीकाले आफ्नो दाईका कारण प्रेमीलाई भेट्न नपाउनु र लाहुरेले भगाएर लैजानु विषयवस्तुलाई म्युजिक भिडियोमा समावेश गरिएको छ ।’
म्युजिक भिडियो हेर्दा दर्शकले आफ्नै कथा भेट्ने अधिकारी बताउँछन् । लाहुरे जीवनका प्रेमील यादहरु सम्झनामा आउने भनाई उनको छ । गीत संगीतको उत्थानका लागि आफु सँधै प्रतिबद्ध रहेको उनले बताए ।