
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमण गरे निर्णाय कदम चाल्ने आश्वासन दिएका छन्। आइतबार युक्रेनी राष्ट्रपति भ्लादिमिर जिलिन्स्कीसँग टेलिफोनमार्फत कुरा गर्दै बाइडेनले यस्तो बताएका हुन्।
युक्रेन र रुसबीचको सीमामा तनाव बढिरहँदा बाइडेनले युक्रेनलाई आश्वस्त पार्ने प्रयास गरेका हुन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार बाइडेनले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए।
रुसले युक्रेनको सीमानजिक करिब एक लाख सैनिक तैनाथ गरेको छ।
अर्को साता अमेरिका, रुस र नेटो सदस्य मुलुकबीच युरोपमा वार्ता हुने तय भएको छ। जसमा नेटो पूर्वतिर विस्तार हुँदैन भनेर अमेरिकाले बाचा गर्नुपर्ने सर्त रुसले राख्दै आएको छ।
गत बिहीबार मात्रै बाइडेन र पुटिनबीच फोनवार्ता भएको थियो। एजेन्सी