झ्याप्प झ्याप्प किन गइरहेको छ बिजुली? कुलमान भन्छन्– अब जाँदैन


     नेपालय न्युज,     
     पुष १६ गते २०७८


नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन्।
शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताए।

उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए।

काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेसन थपिँदै भएकोले उक्त सबस्टेसन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने उनको भनाइ छ।


प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको दोहोर्याए।

प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘विगत ३÷४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो। यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन। काठमाडौंमा मात्रै हो।’

यो सप्लाईको कारणले भएको समस्या नभएको बताउँदै उनले काठमाडौंका सबै ठाउँमा यो समस्या नआएको र आएका केही ठाउँहरुमा पनि आजबाट समाधान हुने बताए।

विद्युतको बेलुकाको पिक लोड अहिले करिब १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको घिसिङको भनाइ छ।

‘त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ। अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ’, उनले थपे, ‘काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो। विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ।’

पानी परेपछि ठाउँ ठाउँमा हाम्रो लोडहरु अपेक्षाकृतभन्दा बढेको पनि उनले सुनाए।

‘सिस्टममा सब्स्टेसनबाट फिडरहरु निस्किन्छ, काठमाडौंभित्र धेरै सब्स्टेसनहरु छन्। जसले काठमाडौंभित्रको लोडलाई सप्लाई गरिरहेको छ’, उनले भने, ‘सब्स्टेशनहरुबाट निस्केको धेरै फिडरहरुमध्ये, त्यसमा पनि धेरै ट्रान्सफर्मरहरु हुन्छन्, काठमाडौं उपत्यकामा मात्रै करिब ३७ सय ट्रान्सफर्मरहरु छन्। त्यसबाट हाम्रो आ उपभोक्तलाई सप्लाई हुन्छ। यदि फिडरमा नै समस्या आएको छ भने १०÷२० वटा ट्रान्सफर्मरहरुमा समस्या आउने हुन्छ। अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरु ओभरलोड भएको हो।’

लोडअनुसार ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेको बताउँदै उनले केही फिडरहरुमा पनि आगलागी भएको उल्लेख गरे।

केही स्थानमा भने ट्रान्सफर्मरहरु पछि पनि केवलहरु घरमा जाने र त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको उनको भनाइ छ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने भन्दै आश्वस्त हुन आग्रह गरे।

उनले केही स्थानमा त्यहाँका बासिन्दाहरुले सबस्टेसन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरुलाई सब्स्टेसन बनाउन दिन आग्रह गरे।

नेपालखबर

WP2Social Auto Publish Powered By : XYZScripts.com