पोखरा ।
तेर्सापट्टी बुहारी समूहको आयोजनामा नेवारी परिकार उत्सव सम्पन्न भएको छ । समूहले नेवारी खानाको संस्कृति बचाउन नेवारी परिकार उत्सब गरेको हो । फेस्टिभलमा आयोजक बुहारी समुहले कार्यक्रम स्थलमै परिकार बनाउने तालिम पनि प्रदान गरेको थियो ।
उक्त कार्यक्रमको शुभारम्भ गर्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो । नेवाः खल कास्कीले नेवारी संस्कृति जगेर्नाका लागि जागरण अभियान चलाएको स्मरण गर्दै कास्कीका विभिन्न भेगमा अहिले नेवारी परम्परालाई जिवन्त राख्न कचाः खल, मिसा पुच, ल्याम्ह पुच सक्रिय रहेको बताउनुभयो ।
आयोजक तेर्सापट्टी बुहारी समूहका अध्यक्ष निलम उदासले नेवारी परिकारहरु घरका चुलोमा पाक्न छाड्दा विभिन्न नेवारी चाडमा पाक्ने नेवारी परिकारको संस्कृति नै लोपोन्मुख हुने अवस्थामा समूहभित्रका महिलाहरुलाई नेवारी परिकार पकाउन सिकाउन लागेको बताउनुभयो । उहाँले महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले पनि तालिम दिइएको बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष रामेश्वर मल्ल, वडा नम्बर ३ का वडा सदस्य रविन कायस्थ, नेवा मिसा पुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
उत्सवमा प्रशिक्षार्थीहरुले पकाएका परिकारहरु स्टलमा राखिएको थियो । उत्सव स्थलमा पुगेका दर्शकहरुले कार्यक्रम स्थलमै पकाएका खानेकुरा प्रत्यक्ष हेरेर मिठो मानी खाएको संयोजक शान्ती उदासले बताउनुभयो ।
समूहले आफ्नो ३० भन्दा बढी महिला सदस्यलाई नेवारी परिकारहरु निःशुल्क रुपमा पकाउन तालिम दिएकोे समूहकी अध्यक्ष उदासले जानकारी दिनुभयो । जोःजलपा नेवारी किचनका सेफले प्रदान गरेको तालिममा नेवारी परिकार योमरी, छोयला, समयबजी, चटामरी, बारा, तखला, सन्यखुन्य लगायत पकाउन सिकाइएको थियो । भिन्तुना युवा क्लव तेर्सापट्टीले परिकार उत्सवको व्यवस्थापन सहयोगीका रुपमा सघाएको छ।