गूगलभन्दा लोकप्रिय अनलाइन साइट बन्यो टिकटक


     नेपालय न्युज,     
     पुष ९ गते २०७८


लन्डन । अमेरिकी सर्च इञ्जिन गूगललाई उछिनेर पहिलो स्थानमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक आएको छ ।

सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक बनेको बताएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकको गूगलको भन्दा बढी अनलाइनमा खोजी हुने गरेको छ । अर्थात् प्रयोगकर्ताहरू गुगलमाभन्दा धेरै टिकटकमा व्यस्त हुन थालेको पनि उसले बताएको छ ।

इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा सन् २०२१ को फेब्रुअरी, मार्च र जुन महीनामा टिकटकले गूगललाई शीर्ष स्थानबाट पछि पारेको र त्यसपछि अगस्ट महीनायता टिकटक नै नम्बर एक स्थानमा कायमै रहेको छ ।

गत वर्ष गूगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम १० स्थानमा थिए।सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।

क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ट्राफिकको निगरानी गर्ने उपकरण क्लाउड फ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ। उसले टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान पनि गरेको छ। उसको विश्लेषण अनुसार कोरोना महामारीको समयमा घरैमा बस्नुपर्ने बाध्यतामा रहेका कारण प्रयोगकर्ताहरुको ध्यान मनोरञ्जनका उपायहरू खोज्दै गर्दा टिकटकमा परेको हुनसक्छ।

यो वर्षको जुलाई महीनासम्ममा टिकटक एप ३ अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले बताएको छ। टिकटकको हाल विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको अनुमान छ । बीबीसी

WP2Social Auto Publish Powered By : XYZScripts.com