फाइजरले बनाएको कोरोनाविरुद्धको ट्याब्लेटले पायो स्वीकृति


     नेपालय न्युज,     
     पुष ८ गते २०७८


न्यूयोर्क (अमेरिका) । अमेरिकी औषधी निर्माता कम्पनी फाइजरले विकास गरेको कोभिड विरुद्धको प्याक्सलोभिड नामक खानेचक्की(पिल) ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बुधवारउक्त कम्पनीले विकास गरेको कोभिड पिललाई अनुमति दिएको अन्तरराष्ट्रिय समाचार माध्यमले समाचार प्रकाशित गरेका छन् ।

एफडीएले कोभिड संक्रमित भएका वयस्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो । त्यस्तै शुरुमै अस्पताल जानु पर्ने लक्षण देखिने कोभिड संक्रमितले समेत घरमै पिल प्रयोग गर्न सक्ने छन् ।

मोटोपना र मुटुसम्बन्धी समस्या भएका वयस्कले पनि फाइजरको कोभिड पिल प्रयोग गर्न सक्नेछन् । तर मृगौला तथा कलेजोको गम्भीर समस्या भएका मानिसलाई भने पिल प्रयोग दिइने छैन । साथै, पिल प्रयोगका लागि १२ वर्षमाथिका बालबालिकाको तौल कम्तिमा ४० किलो हुनु पर्नेछ ।

फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएसँगै मानिसले घरमै पिल सेवन गरेर कोरोना भाइरसको अति खराब असर रोक्न सक्ने पनि बताइएको छ । फाइजरको पिल कोभिड- १९ को प्रारम्भिक संक्रमण चाँडो उपचार गर्ने औषधि हो । अहिले भने अमेरिकामा शुरुमा सीमित मात्रामा मात्रै वितरण गरिने छ ।

उता औषधि निर्माता कम्पनी मर्कले उत्पादन गरेको एन्टिभाइरल कोभिड पिलले समेत चाँडै नै प्रयोगको अनुमति पाउने अपेक्षा गरिएको छ । पिल खाएपछि अस्पताल भर्ना र मृत्यु हुने संभावना ९० प्रतिशतले घट्ने यसअघिको परीक्षणबाट पुष्टि भइसकेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com