एजेन्सी । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ३३ जना ओमिक्रोन संक्रमित भएका हुन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कुल संक्रमितको संख्या ३७ हजार १ सय १ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८ सय ८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरूको संख्या एक करोड १३ लाख ६१ हजार ३ सय ८७ पुगेको बीबीसीले जनाएको छ ।
यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या निकै धेरै भएको छ । संक्रमितको तुलनामा मृत्युदर भने सामान्य नै देखिएको छ ।
पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको ज्यान गएको छ । बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २ सय १८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।