यस्तो बन्यो कांग्रेस हाँक्ने टिम, सहज छैन देउवालाई

-


     नेपालय न्युज    
     पौष २ गते २०७८


उजिर कार्की,

आगामी चार वर्षे कार्यकालका लागि नेपाली कांग्रेसको पदाधिकारीको शुक्रबार टुंगो लागेको छ।
आठै जना सहमहामन्त्रीको मतपरिणाम शुक्रबार साँझ आएसँगै सभापतिसहित १३ पदाधिकारीको टुंगो लागेको हो।

सभापति, उपसभापति र महामन्त्रीको मतगणना सकिएपछि बिहीबारबाटै सहमहामन्त्रीको मतगणना थालिएको थियो।

सहज छैन देउवालाई
१३ पदाधिकारीको टुंगो लाग्दा अघिल्लो कार्यकाल जस्तो शेरबहादुर देउवाको चार वर्षे यात्रा सहज हुने देखिएको छैन।

१३ औं महाधिवेशनपछि दुवै उपसभापति देउवाकै समूहका थिए। तर यसपटक पूर्णबहादुर खड्का मात्रै उनको समूहबाट विजयी भए। अर्को उपसभापतिमा डा. शेखर कोइराला प्यानलबाट धनराज गुरुङ निर्वाचित भएका छन्।

धनराज देउवाका कटु आलोचकमध्ये एक हुन्। उनले निर्वाचित भएलगत्तै देउवा नेतृत्वको पाँच दलीय गठबन्धन आवश्यक नभएको बताइसकेका छन्। उनले आगामी चुनाव कांग्रेस एक्लै लड्नुपर्ने पनि धनराजले बताइसकेका छन्।
सभापतिपछिको मुख्य कार्यकारी महामन्त्री पदमा दुवैजना इतर समूहबाट आएका छन्।

दुईतिहाइ बहुमतसहित निर्वाचित गगन थापा डा. कोइराला प्यानलका हुन्। दोस्रो मतसहित विजयी विश्वप्रकाश शर्मा पनि प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए।

दोश्रो चरणमा प्रकाशमानले देउवालाई नै साथ दिए पनि विश्वप्रकाशलाई महामन्त्रीमा देउवाको साथ थिएन। उनले महामन्त्रीको उम्मेदवारमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई अघि सारेका थिए। तर, उनीहरु दुवै पराजित भएका छन्।

सहमहामन्त्रीमा पनि दुई जना कोइराला समूहबाट आएका छन्। यहाँ भने देउवा पक्षका बहुमत ६ जना सहमहामन्त्री बनेका छन्। देउवाले कोषाध्यक्ष पछि नियुक्त गर्नेछन्।

१४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहरिँदा पूर्णबहादुर खड्का एक तह माथि पुगे। तर बाँकी सबै पदाधिकारी नयाँ आएका छन्।

१३ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित पूर्णबहादुर खड्का उपसभापतिमा विजयी हुँदा बाँकी ११ पदाधिकारी नयाँ आएका छन्।

निवर्तमान उपसभापति विमलेन्द्र निधि सभापतिमा र विजयकुमार गच्छदार उपसभापतिमा पराजित भइसकेका छन्।

महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

सहमहामन्त्री डा. प्रकाशशरण महत महामन्त्रीमा पराजित भए। अर्का सहमहामन्त्री सुनिलबहादुर थापा केन्द्रीय सदस्यमा उम्मेदवार छन्। कोषाध्यक्ष सीतादेवी यादवले कुनै पदमा उम्मेदवारी दिइनन्।
१४ औं महाधिवेशनबाट ११ जना नेताहरु पहिलो पटक पदाधिकारी निर्वाचित भएका छन्।

उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निवर्तमान केन्द्रीय सदस्य हुन्।

थापा १३ औं महाधिवेशनमा महामन्त्रीमा नै पराजित भएपछि केन्द्रीय सदस्यमा मनोनित भएका थिए।

यसअघि कांग्रेसमा एकजना मात्रै सहमहामन्त्री निर्वाचित हुने व्यवस्था थियो। तर यसपटक विधान संसोधन गर्दै दुवै महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था ग¥यो।

तर यसअघि निर्वाचित हुने व्यवस्था रहेको कोषाध्यक्ष पदमा मनोनित गरिने भएको छ। कोषाध्यक्षबाहेक पदाधिकारीको टुंगो लागिसकेको छ।

सहमहामन्त्रीमा वर्चस्व

क्लस्टर अनुसारका सहमहामन्त्रीमा अधिकांश देउवाकै समूहबाट निर्वाचित भएका छन्।

महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे, खसआर्यतर्फ किशोरसिंह राठौर, मधेशीतर्फ महेन्द्र यादव, मुस्लिमबाट फरमुल्लाह मन्सुर र थारुबाट उमाकान्त चौधरी सहमहामन्त्री बनेका हुन्। उनीहरु सबै देउवा समूहबाट उम्मेदवार थिए।

सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट २ जना सह–महामन्त्रीमा निर्वाचित भएका हुन्। दलिततर्फबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सहमहामन्त्री निर्वाचित भए। यी सबै पहिलो पटक पदाधिकारी भएका हुन्।

पदाधिकारीको परिणाम आएसँगै केन्द्रीय सदस्यको मतगणना सुरु हुँदैछ। पदाधिकारीको मत परिणामले सदस्यमा पनि मिश्रित परिणाम आउने संकेत देखिएको छ।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com