कांग्रेस महामन्त्रीको अधिकार : सदस्यता टुंग्याउनेदेखि पार्टीमा प्रस्ताव लग्नेसम्म

-


     नेपालय न्युज    
     पौष १ गते २०७८


कृष्ण बहाब,

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गरेका हुन् । 

कांग्रेसमा दुई जना महामन्त्री हुने व्यवस्था छ।

तत्कालीन विधानले एक जना महामन्त्री निर्वाचित हुने र एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था गरेको थियो।


त्यसैअनुरुप १३ औँ महाधिवेशनबाट महामन्त्रीमा शशांक कोइराला निर्वाचित भएका थिए भने सभापति शेरबहादुर देउवाले आफ्नो अधिकारको प्रयोग गर्दै पूर्णबहादुर खड्कालाई महामन्त्रीमा मनोनित गरेका थिए।

तर, २०७५ फागुन ११ गते विधान संशोधन भयो। संशोधित विधानअनुसार भने महामन्त्री मनोनयन गर्ने सभापतिको अधिकार खोसेको छ।

दुई जना महामन्त्रीको लागि निर्वाचन नै हुने व्यवस्था संशोधित विधानले गरेको थियो। सोहीअनुसार अहिले निर्वाचन भएको हो।

विधानअनुसार महामन्त्रीको मातहतमा केन्द्रीय कार्यालय हुन्छ। केन्द्रीय कार्यालयसँगै कांग्रेसमा पेचिलो बन्ने गरेको क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने जिम्मा समेत महामन्त्रीको छ।

विधानको दफा २७(९) बमोजिम सदस्यहरुको अभिलेख विवाद समाधानको जिम्मा समेत महामन्त्रीमा रहेको छ।

विवाद टुंग्याउने मात्र हैन पार्टीको क्रियाशील तत्काल बाँड्न सक्ने अधिकार समेत विधानले महामन्त्रीलाई दिएको छ।

विधानको दफा २७ (११) मा भनिएको छ, ‘योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने।’

विधानको दफा ४(९) अनुसार महामन्त्रीको संयोजकत्वमै सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन हुने प्रावधान छ। दुई जना महामन्त्रीमध्ये एक जनालाई सो समितिको संयोजक पार्टी सभापतिले तोक्ने व्यवस्था गरिएको छ।

‘सभापतिले तोकेको महामन्त्रीको संयोजकत्वमा केन्द्रीय कार्यसमितिले तीन जना केन्द्रीय सदस्य रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गर्नेछ’, विधानको दफा ४ (९) (क)मा भनिएको छ, ‘उक्त समितिले देशभरीको सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने काम गर्नेछ।’

सदस्यता मात्र हैन, केन्द्रीय कार्यसमितिदेखि महाधिवेशनसम्म पनि महामन्त्रीले नै प्रस्ताव र प्रतिवेदन पेश गर्ने तथा पार्टीभित्रका केन्द्रीयस्तरका सबै संयन्त्रको निर्णय कार्यान्वयन गराउने जिम्मा समेत महामन्त्रीमा हुने व्यवस्था विधानमा छ।

यस्ता छन् दफा २७ ले महामन्त्रीलाई दिएका अधिकार
२७. महामन्त्रीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(१) नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ। महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ।
(२) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी महामन्त्रीको हुनेछ।
(३) दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पुर्‍याउने तथा महत्वपूर्ण विषयमा सभापतिलाई जानकारी सुझाव दिने।
(४) पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरिवेक्षण गर्ने÷गराउने।
(५) पार्टी सम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउने।
(६) केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने।
(७) पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने।
(८) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने।
(९) नेपाली कांग्रेसको सदस्यता बारे धारा ४ को उपधारा ९ बमोजिमको कार्य गर्ने गराउने।
(१०) पार्टी मातहतका निकायहरूलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने।
(११) योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनु पर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने।
(१२) अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com