अफगानिस्तानमा अमेरिकी मुद्रा पनि चल्न नदिने

-


     नेपालय न्युज    
     पौष १ गते २०७८


अमेरिकालाई पराजित गर्दै अफगानिस्तान कब्जामा लिएको तालिबानले अब त्यहाँ अमेरिकी डलर पनि चल्न नदिने भएको छ । अन्य देशको मुद्रा प्रयोग गर्दा अफगानी मुद्रा निकै कमजोर भएको तर्क गर्दै तालिबान सरकारले अमेरिकी डलरलगायत सबै विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

तालिबान शासकहरूले यस्तो निर्णय अफगानी मुद्रालाई स्थिर राख्न लिइएको दाबी गरेका छन् । अब त्यहाँ कसैले पनि विदेशी मुद्रा पारिश्रमिक लिनेगरी काम गर्न पनि पाउने छैनन् । विदेशी मुद्रा प्रयोगका कारण पनि देशको अर्थव्यवस्था खराब भएको तालिबानको दाबी छ ।

उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले विदेशी मुद्रा प्रयोगमा रोक लगाइएकोबारे जानकारी दि राजधानी काबुलमा पत्रकार सम्मेलन नै आयोजना गरेका छन् । उनले अब त्यहाँ विदेशी मुद्रा प्रयोग गर्न नपाउने र अफगानी मुद्रा नै अनिवार्य प्रयोग गर्नुपर्ने बताएका हुन् । सलामले डलर तस्करी गर्नेहरूलाई देशद्रोही र गद्दार घोषणा गरिदिएका छन् ।

सलामले भनेका छन्, ‘अबदेखि अफगानिस्तनानमा विदेशी मुद्रा लेनदेन गर्न नपाइने फैसला हामीले गरेका छौं । सबै सुरक्षा एजेन्सी र गभर्नरहरूलाई यो फैसला लागू गर्न निर्देशन दिएका छौं । डलर र सामान लेनदेनमा यसको प्रयोग अब कानूनी हिसाबले तस्करी मानिनेछ । त्यस्तो काम गर्नेलाई देशद्रोही मानेर त्यसैअनुसार व्यवहार गरिनेछ ।’

देशका केही मानिसहरूले गैरजिम्मेवार व्यवहार देखाउँदै अवैध गतिविधि गरिरहेको र यही कारण अफगानी मुद्रामा गिरावट आएको तालिबान सरकारको दाबी छ । तर, अर्थशास्त्रीहरूले बढ्दो बेरोजगारी, व्यापार र आर्थिक गतिविधिमा गिरावट, सरकारी कर्मचारीलाई तलब नदिनु र अन्य देशले अफगानिस्तानको कोषमाथि प्रतिबन्ध लगाउँदा यस्तो स्थिति निम्तिएको बताएका छन् ।

बीबीसीका अनुसार उपप्रधानमन्त्री सलामले मुद्रा सटही गर्ने मनी चेञ्जर्सहरूका कारण अफगानी मुद्रा कमजोर भइरहेको पनि तर्क गरेका छन् । मनी चेञ्जर्सहरूका लागि पनि नियम बनाउन आवश्यक रहेको उनले बताएका छन् । तर, देशको आर्थिक र वित्तीय स्थिति सुधार्न तालिबानले के गर्दैछ भन्नेबारे चाहिँ सलामले केही खुलाएका छैनन् ।

स्वदेशी मुद्राको मूल्य बचाउन तालिबानले एक आयोग पनि गठन गरेको छ । सो आयोगको नेतृत्व उपप्रधानमन्त्री सलामले नै गरेका छन् । यसअघि पनि तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर, त्यो कार्यान्वयन हुन सकेको थिएन । तालिबानले अफगानी मुद्रालाई विदेशी मुद्रा प्रयोगले असर पार्ने ठान्ने गरेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com