नेपाली कांग्रेसमा उपसभापतिका उम्मेदवार धनराज गुरुङले नेता प्रकाशमान सिंहमाथि अनेक कटाक्ष गरेका छन्।
नेता शेखर कोइराला प्यानलले महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्न बुधबार आयोजित कार्यक्रममा गुरुङले सिंहमाथि कटाक्ष गरेका हुन्।
उनले प्रकाशमानबाट यतिसम्म नैतिकहीन काम हुन्छ भन्ने आफूले सोच्दै नसोचेको पनि बताएका छन्।
‘मलाई विश्वास पनि छैन तर बडो अचम्म लागिरहेको छ। पटक्कै विश्वास पनि छैन, म यो कुरा मान्दा पनि मान्दिनँ’, उनले भने, ‘मैले विश्वास नमान्दा नमान्दै पनि नैतिकता बेच्नेले बेचिसके, विश्वास गर्न बाध्य छु।’
उनले गणेशमानलाई स्मरण गर्दै उनले मान्छे ठानेकहरुलाई छोरा प्रकाशमानले भेडा सम्झिएर बेचिदिएको बताए।
‘बुवा भन्थे, यी छोरा यी भेडा होइनन्। तर छोराले लुकेर सबैलाई भेडा भनेर बेचिदिन्छ। पितजाी भनन्नु हुन्थ्यो, बाबु राजनीतिमा नैतिकता हुन्छ त। छोरो भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ’, उनले अगाडि भने, ‘पिताजीले बनाएको गोठ, पिताजीले हुर्काएको नैतिकता र विवेकलाई छोराले बेचिदिएका छन्।’
उनले नैतिक पाठ दिन नसकिएर गोठ जस्तो देखिए पनि छोराले गोठ नै ठानेर बेचिदिएको बताए। ‘बुवा भन्थे, गोठ जस्तो देखिए पनि भेडा जस्तो देखिए पनि छोरालाई यिनीहरुसँग विवेक छ भनिरहन्थे’, उनले भने, ‘पिताजीहरु त स्वर्गतिर पुगेका छन् सायद। तर, तर छोरो भन्छन्, यी त सबै भेडा हुन् बेचिदिनुपर्छ भन्छन्।’
उनले आफूहरु निष्ठा र विचारको पक्षमा उभिएका पनि बताए। ‘त्यसैले शेखर कोइरालाले आज टाउको गन्दै गर्दा केही मत कम भयो होला। तर आस्था निष्ठा र विचारले जितेको छ’, उनले भने, ‘हामी बिपी, गणेशमान, महेन्द्रनारायण निधिका छोरा हौा। रगतको मात्रै होइन, हामी छोरा हौँ, निष्ठाका दाबेदार हौँ।’
उनले आफूहरु उच्च मनोबलका साथ कांग्रेसलाई निष्ठाको राजनीतिमा डोर्याउन काम गर्ने बताए।
‘हामीले पार्टीलाई सदाचारी बाटोमा ल्याउन काम गर्नुपर्छ। निरन्तर बगिरहने नदी जस्तै शेखर कोइरालाको नेतृत्व देशभर हिँडिरहनेछ। निष्ठानको विचारको यात्रामा अघि बढिरहन्छौँ’, उनले भने, ‘हामी अभ्यास गरिरहन्छौँ। चिन्तित छैनौँ, हामी फेल भएका छैनौँ । जाँच दिँदा त ३३ प्रतिशतमा पनि पास हुन्छ भने हामी त ४० प्रतिशत लिएर पास भइसकेका छौँ। हामी अभ्यास गरिरहन्छौँ।’
नेपालखबर