नेपाली कांग्रेसको संस्थापन पक्षले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीमा उठ्ने आकांक्षीहरुको सूची संकलनको जिम्मा सात नेतालाई दिएको छ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको बैठकले यस्तो जिम्मेवारी सात नेतालाई दिएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाको टिमबाट केन्द्रीय सदस्य र पदाधिकारीमा लड्न इच्छुक नेताहरुको सूची यी सात नेताले तयार पारेर बिहीबार १२ बजेसम्म बुझाउनुपर्ने छ।
यो कामका लागि सुदूरपश्चिममा एनपी साउन, कर्णाली पूर्णबहादुर खड्का, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बागमतीमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल र प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिइएको छ।
यी नेताहरुले सम्बन्धित प्रदेशका के कार्यसमिति सदस्यसँग बसेर इच्छुकको नाम तयार गर्नेछन्।
त्यस्तै उनीहरुले यो पटक प्रदेश कमिटीमा जितेका पदाधिकारी र हारेका आफ्नो टिमका नेतासँग बसेर देउवा प्यानलबाट चुनाव लड्ने सबै इच्छुकको सूची बनाउने भएका छन्।
उनीहरु सातै जनाले यो सूची बिहीबार मध्यान्ह १२ बजेभित्र बुझाइसक्नु पर्ने भएको छ। देउवा पक्षमा पदका आकांक्षी धेरै भएपछि बैठकले सूची नै बनाउने निर्णय लिएको हो।
नेपालखबर