रामचन्द्रका लागि शशांकले छाडे कांग्रेस सभापतिको दाबी

-


     नेपालय न्युज    
     मंसिर २१ गते २०७८


नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १४ औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएका छन्।


सभापतिका अर्का दाबेदार एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा मंगलबार दिउँसोदेखि जारी इतर समूहको बैठकबाट निस्केर बोल्दै उनले यस्तो बताएका हुन्।

करिब ५ घण्टादेखि जारी इतर समूहको बैठकमा युवा र केन्द्रीय सदस्यहरुले मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि शशांक सभापतिको दौडबाट बाहिरिएका हुन्।

‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडेँ। रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नु भएको छ’, कोइरालाले भने, ‘तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नुभएको छ।’


कोइरालाका अनुसार सभापतिका अन्य दुई दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह मिलेर उठ्न तयार भएमा पौडेलले पनि दाबी छाड्न तयार भएका छन्।

‘शेखर र प्रकाशमान मिल्न तयार भएमा रामचन्द्र पौडेलले पनि सभापतिको दाबी छाड्ने संकेत गर्नु भएको छ’, उनले भने, ‘हामीसँग छलफल गर्ने समय अब छैन। राति टुंगिन नसके भोलि बिहान त पक्कै पनि सकिन्छ।’

WP2Social Auto Publish Powered By : XYZScripts.com