
नेपाली काँग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल प्यानलबाट शुक्रराज शर्मालाई उठाइने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ एक कार्यक्रममा शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला सहितको उपस्थितिमा निरन्तर वार्ता र छलफलपछि शर्माको नाम टुंग्याइएको हो । सभापति पदको उम्मेदवार बाहीबार साँझ एक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ । लेकसाईडस्थित होटल स्नो ल्याण्डमा सबै उम्मेदवारले आफ्ना धारणा राखेपछि शर्मालाई टिकट दिने निर्णय गरिएको हो ।
संस्थापन पक्षले यसअघि नै पर्वतका अर्जुन जोशीलाई टिकट दिएको छ भने उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का, सहमहामन्त्रीमा झुलबहादुर आले, राजनराज पन्त र ओमकला गौतमको नाम टुंगो लागेको छ ।

संस्थापनइतर समूहबाट प्रदेश सभापतिमा शुक्रराज शर्मा, कास्कीका यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका थिए । पौडेल समूहबाट अगाडि सारिएका शर्माले विगतमा १७ वर्ष कास्की काँग्रेसको सभापति भएर काम गरेका थिए ।
सभापतिको टुङ्गो लगाए पनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो शुक्रबार बिहानसम्म लगाइने वरिष्ठ नेता पौडेलले बताएका छन् ।
पहिलो पटक हुन लागेको कांग्रेस प्रदेश कार्यसमितिमा सभापति एक, उपसभापति २, महामन्त्री २ र १ महिलासहित ३ जना सहमहामन्त्री हुने छन् । प्रदेश सभापतिले निर्वाचित सदस्यहरुबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट १ जना कोषाध्यक्ष चुनिने छन् ।