
वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा एच १–बी भिसाबाहक आप्रवासीको संख्या ९ प्रतिशतले घटेको छ ।
उक्त भिसा बाहकको संख्यामा आएको यो कमी एक दशकयताकै तीव्र भएको अमेरिकी श्रम मन्त्रालयले पाएको विश्लेषणका आधारमा ब्लुम्बर्ग न्यूजले बताएको हो । एच १–बी भिसामा विदेशी इञ्जिनियरिङ र गणितका कामदारहरुको संख्या सन् २०२१ को सेप्टेम्बरमा सकिएको आर्थिक वर्षमा १२ दशमलव ६ प्रतिशतले घटेको बताइएको छ ।
यो श्रेणीका भिसा बाहकको संख्या घटेको यो लगातार दोस्रो वर्ष हो । कोरोना भाइरसको महामारीलाई दृष्टिगत गरेर यात्रा र भिसामा लगाइएको प्रतिबन्धका कारण भिसा बाहकको संख्या घटेको हो ।
गएको आवमा सबै जागिर श्रेणीमा भने एच १–बी भिसा बाहकको संख्या ४ लाख ९७ हजारभन्दा केही बढी छ । यो सन् २०२० को तुलनामा ९ प्रतिशत र सन् २०१९ को तुलनामा १७ प्रतिशत कम भएको बताइएको छ ।
ब्लुम्बर्ग न्यूजले सन् २०११ देखि सन् २०२१ बीचको डेटाको विश्लेषण गरेको थियो । कोरोना भाइरसको महामारीका कारण लगाइएको यात्रा प्रतिबन्ध र गैर—आप्रवासीहरुले भिसा प्राप्त गर्न नसक्दा एच १–बी भिसामा काम गर्ने कामदारको संख्या घटेको विश्लेषकहरुले बताएका छन् ।
अर्को कारण भने एच १–बी भिसामा अमेरिकामा काम गर्नेहरु विगतका वर्षहरुमा स्थायी बासिन्दा बनेकोले पनि संख्या घटेको हुन सक्ने बताइएको छ । एजेन्सी