
दि इकोनोमिस्ट
पेङ सुआइको कथाको सुखद् अन्त्य होला भनेर आशा गर्नु कठिन छ। यी चिनियाँ टेनिस स्टारले नोभेम्बर २ मा आफूभन्दा दोब्बर उमेरका पूर्व उच्चपदस्थ व्यक्तिले आफूसँग जबर्जस्ती यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।
सिद्धान्ततः कम्युनिस्ट पार्टीले पदमा आसीन व्यक्तिका हरेक अनैतिक गतिविधिको निन्दा गर्छ। अनुकूल पर्दा पदच्यूत गरिएका अधिकारीहरुले विवाहेत्तर सम्बन्ध राखेको, घुस खाएको भन्दै प्रचार संयन्त्रहरुले तिनको आलोचना गर्छन्। तर, चीनका शासकहरु अझै पनि आफ्नो हैकम कायम गर्नमै ज्यादा चासो दिन्छन्। व्यवस्थाको कुन चाहिँ खराब पक्षलाई उजागर गर्ने र कुन चाहिँलाई लुकाउने भन्ने विशेषाधिकार उनीहरुसँगै हुन्छ।
३५ वर्षीया पेङको दुर्भाग्य त्यही बेलादेखि सुरु भयो, जुन बेला उनले आधाराततिर जबर्जस्ती यौनसम्बन्धको आरोप सामाजिक सञ्जालमा लगाइन्। एक निबन्ध लेख्दै उनले पार्टीको सबैभन्दा शक्तिशाली निकाय पोलिट्ब्युरो स्ट्यान्डिङ कमिटीका पूर्व सदस्यले पटकपटकको दशक लामो विवाहेत्तर सम्बन्धका क्रममा आफूलाई अनिच्छित यौन सम्बन्धका लागि बाध्य बनाएको उल्लेख गरेकी थिइन्।
पेङले पार्टीको विरोधमा आरोप लगाएकी होइनन्। दुखी भएर उनले व्यक्तिका विरुद्ध बोलेकी हुन्। उनले आरोपित ७५ वर्षीय पूर्व उपप्रधानमन्त्री चाङ चेइली र वेइबोमा रहेका आफ्ना ५ लाख ८८ हजार फलोअर्सलाई भावुक आह्वान गरेकी थिइन्।
जसमा उनले कलिलैमा परिवार छाडेर आफूले खेलकुदको कठिन तालिम लिएको बताएकी छन्। उनले आफूलाई ‘प्रेमबाट वञ्चित व्यक्ति’ भनेकी छन्। आफूलाई ‘साह्रै खराब महिला’ भने पनि उनले चाङबाट कहिल्यै पनि पैसा नलिएको बताएकी छन्। न त उनले चाङसँगको सम्बन्धको प्रमाण नै राखिन्।
एकदमै कम चिनियाँहरुले मात्र उनको निबन्ध पढ्न पाए। किनभने आधा घण्टाभित्रै त्यो डिलिट भयो। त्यसपछि यससम्बन्धी छलफलहरुलाई सेन्सर गरियो। चिनियाँ सेन्सरसिपको ‘ग्रेट फायरवाल’ भित्र इन्टरनेटमा पेङ र चाङबारे सर्च गर्दा पुराना समाचार मात्र देखिए। त्यसमा पनि कमेन्ट प्रतिबन्धित गरिएको थियो। पेङले लगाएको आरोप कति चिनियाँलाई थाहा भयो, अनुमान गर्न कठिन छ। तर, के स्पष्ट छ भने ठूलो संख्यालाई थाहा छैन।
पेङको अवस्था अझ भयंकर हुन सक्छ। चाङभन्दा कम शक्तिशाली पुरुषहरुलाई चुनौती दिने अन्य महिलाहरुलाई कडा सजाय दिइएको छ। २०१८ मा जब चीनमा ह्यासट्याग मि टु अभियान सुरु भयो, तब विश्वविद्यालयका महिलावादी समूहहरु बन्द गरिए, एक्टिभिस्टहरुलाई पक्राउ गरियो। हो, घोर दुर्व्यवहारको आरोप लागेका केही प्राज्ञहरुलाई पदबाट हटाइयो। मुलुकको कानुनमा यौन दुर्व्यवहारलाई समावेश गरियो। तर, शक्तिमा पार्टीको पकडलाई कायम राख्न सार्वजनिक रुपमा आरोप लगाउने कयौँ महिलाहरुलाई पनि दमन गरियो।
चीनको प्रमुख सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीकी प्रशिक्षार्थी चाउ सियाओसुआनले एक चर्चित प्रस्तोताले आफूलाई जबर्जस्ती स्पर्श गरेको आरोप लगाइन्। बेइजिङ प्रहरीले सुरुमा समाज र चाउका आमाबाबुको सरकारी जागिर बचाउन उजुरी फिर्ता लिन आग्रह गर्यो। सेप्टेम्बरमा चाउले मुद्दा हारिन्।

चर्चित खेलाडी भएकाले पेङको विषय स्वदेशमा सेन्सर भयो र विदेशमा यसले अत्यधिक चर्चा बटुल्यो। विमिन्स टेनिस एसोसियसन (डब्लूटीए)ले पेङसँग फोन र मेसेजमार्फत सम्पर्क राख्न कयौँ दिन प्रयास गरेको र असफल भएको बतायो। सरिना विलियम्स, नाओमी ओसाका र नोभाक जोकोभिच तथा विदेशी सरकारहरुले उनको सुरक्षाबारे चिन्ता व्यक्त गरे। बेइजिङस्थित फ्रान्स र युरोपेली संघका दूतावासले पनि चासो देखाए।
विदेशमा भइरहेका यी चर्चा बन्द गर्न चिनियाँ सञ्चारमाध्यमहरुले ट्विटरजस्ता चीनमै प्रतिबन्धित प्लाटफर्मलाई प्रयोग गर्ने प्रयास गरे। तर, त्यो सफल भएन। अन्तर्राष्ट्रिय चासो सेलाउनुको सट्टा झन् बढ्यो। नोभेम्बर १८ मा चीनको अन्तर्राष्ट्रिय टेलिभिजन नेटवर्क सीजीटीएनले अंग्रेजी भाषामा एउटा ट्विट गर्यो। जसमा पेङले सो आरोपको स्वामित्व नलिएको र उनले आफू घरमै आराम गरिरहेको बताएको दाबी गरिएको थियो। पार्टीको ट्याबलोइड ग्लोबल टाइम्सका सम्पादकले अंग्रेजीमा ट्विट गर्दै पेङ खतरामा रहेको अनुमान नगर्न विदेशी सञ्चारमाध्यमलाई आग्रह गरे। त्यसपछि उनको ट्याबलोइडले मञ्चितजस्तो एउटा भिडिओ ट्विट गर्यो जसमा पेङ आफ्ना प्रशिक्षकसहित रात्रीभोजमा गएको र टेनिस प्रतियोगितामा पुगेर बालबालिकाहरुलाई भेटेको देखिन्थ्यो।
पेङको मुद्दाले धेरै कुराको खुलासा गर्छ। स्वदेशमा चिनियाँ प्रचार संयन्त्रको एकाधिकार छ। तर, विचारहरुको प्रतिस्पर्धा हुने विदेशी बजारमा उनीहरु अप्ठेरोमा पर्ने रहेछन्। उनीहरु चिनियाँ जनतामा राष्ट्रवाद उराल्नमा निर्भर छन् र सबै खराबीको दोष विदेशी शत्रुमाथि थोपर्छन्। यस पटक पेङबारे स्वदेशमा चर्चा गर्न नमिल्ने भयो। त्यसैले राष्ट्रवादको हतियार काम लागेन।
यो तनाव नोभेम्बर २० का दिन देखियो। सीजीटीएनका एक प्रस्तोताले पेङको सुरक्षाको प्रमाण मागेकोमा विदेशीहरुलाई नश्लवादको आरोप लगाए। ‘रमाइलो कुरा, पश्चिमका केही मानिसहरु चीन उनीहरुको इसारामा नाच्नुपर्छ भन्ने सोच्दा रहेछन्। श्वेत पुरुषहरुको विशेषाधिकारकै अर्को रुप होइन त यो?’ उनले ट्विट गरे।
बजारको शक्ति प्रयोग गरेर विदेशीहरुलाई तर्साउन चीन माहिर छ। नोभेम्बर २१ का दिन पेङले इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी)का पदाधिकारीसँग भिडिओ वार्ता गरिन्। आईओसीका हाकिमहरुले पेङ सकुशल रहेको बताए। फेब्रुअरीमा बेइजिङमा हिउँदे ओलम्पिक सुरु हुँदैछ। त्यसैले पेङ प्रकरण छिटो सेलाओस् भन्नका लागि आईओसी र कर्पोरेट प्रायोजकहरुसँग अर्बौँ डलरका कारण छन्।
यसको स्पष्ट पाठ यहीँनेर छ। चीनले महिला खेलाडीलाई फाइदा हुने अनेकौँ प्रतियोगिता आयोजना गर्छ। तथापि चीनलाई चुनौती दिएर डब्लूटीएले बहादुरी देखायो। किनभने महिला खेल एसोसियन भएकाले महिला खेलाडीहरुको विश्वास जित्नु डब्लूटीएका लागि अत्यावश्यक छ। चीनको बजारभन्दा ठूलो कुरा त्यो हो।
पेङको मुख बन्द गरिएको यो घटनाले एक दलीय शासनको कठोर प्रकृतिको उजागर मात्र गर्दैन। चीनमा निर्भर हुँदा कसरी विदेशीहरु समेत व्यक्तिगत अधिकारका पक्षमा उभिन नसक्नेगरी कमजोर हुन्छन् भन्ने पनि यसले देखाउँछ। पेङले विदेशीहरुले पढून् भनेर सो निबन्ध लेखेकी थिइनन्। तर, चिनियाँ सेन्सरसिपका कारण पेङका साक्षी विदेशीहरु मात्रै हुन पुगे। उनको अवस्थाबाट पनि विश्वले चिनियाँ कम्युनिस्ट पार्टीको वास्तविक प्रकृतिबारे पाठ सिक्नेछ।
एजेन्सी