
पोखरा ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन यतिबेला देशभर भइरहेको छ । मंसिर ३ गते शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भयो । कास्कीमा पनि काँग्रेसको महाधिवेशनको माहोल तातिरहेकछ । उसो त महाधिवेशनलाई सभ्य बनाउन कास्की काँग्रेसले विगतमा जस्तो प्रचारप्रसारको तडकभडकमा रोक लगाएको अवस्था हो । जसमा अहिले केही सुधार भएको पाइयो । तथापी केहीले भने पर्चा छाप्ने र बाढ्ने कार्यलाई निरन्तरता नै दिए । केही भने पर्चा नछापिकन मतदाताहरुसँग भोट अपिल गरिरहेको देखिए ।
यस्तैमा एक थिए लोकदोहोरी गायक चोलेन्द्र पौडेल । कास्की क्षेत्र नं २ “ख” बाट प्रदेश प्रतिनिधिमा आफ्नो उम्मेदवारी दिएका पौडेल प्रचारप्रसारको तडकभडक बिनानै विजयी बने । उनी सामान्य मत ल्याएर नभई अत्याधिक मतका साथ विजयी बनेका हुन् । १८८ मत ल्याउँदै उम्मेदवार हरु मध्ये सबै भन्दा बढी मत ल्याएर विजयी बने चोलेन्द्र । निर्वाचन क्षेत्र भित्र न त उनको घाँटीमा पोष्टर भिरेको नै देखिन्थ्यो, न त मतदानका लागि आएका मतदातालाई पर्चा बाँढेको नै देखियो । आएका मतदातालाई नमस्कार गर्दै पर्चा बिना नै मत मागिरहेका थिए ।
सबैले पर्चा बाढिरहेको देखियो तर तपाई न घाँटीमा भिर्नुभएको छ, न त पर्चा नै बाढिरहनुभएको छ किन ? भनेर हामीले चालेन्द्रलाई सोध्दा उनले भने,“नेपाली काँग्रेसले अब प्रचारप्रसारको शैलीलाई परिवर्तन गर्नुपर्छ । पर्चा छापेर अनावश्यक खर्च गर्नुभन्दा पनि त्यसलाई व्यवस्थापन गरी पार्टी कै अन्य सामाजिक गतिविधिमा सहयोग गर्न सकिन्छ । पर्चा छाप्नु मलाई भड्किलो प्रचार लाग्छ । त्यसैले सोचे यसपाली उम्मेदवार भएर मात्र हुँदैन केही सामाजिक सन्देश दिनुपर्छ । त्यसैले मैले पर्चा बिना नै प्रचारप्रसार गरे ।”
२०५६ सालबाट नेपाली काँग्रेसको क्रीयाशिल सदस्य लिएका चोलेन्द्र पौडेल पार्टीमा सक्रिय छन् । काँग्रेसको वडा देखि केन्द्रसम्म विभिन्न समितिमा रहेर उनले सेवा प्रवाह गरिरहेका छन् । पेसाले एक कलाकार भएता पनि राजनीतिक एवं सामाजिक गतिविधिमा उनको सक्रियता देखिन्छ ।