कार उत्पादन घटेसँगै जापानको निर्यात सुस्तायो


     नेपालय न्युज,     
     मंसिर १ गते २०७८


मंसिर १, टोकियो । आपूर्ति श्रृंखलामा उत्पन्न संकटका कारण मोटर उद्योग मारमा परेसँगै जापानको निर्यात सुस्ताएको छ ।

अक्टोबरमा निर्यात ९ दशमलव ४ प्रतिशतले मात्रै बढेको छ । यो आठ महीना यताकै न्यून वृद्धि हो । त्यस्तैगरी यो प्रक्षेपण गरिएको भन्दा कम हो । योसँगै लगातार सात महीनादेखि निर्यातमा दोहोरो अंकको वृद्धिको क्रम तोडिएको छ । विशेष गरी कारको निर्यातमा आएको कमीका कारण निर्यात प्रभावित भएको हो ।

सन् २०२० को सोही अवधिको तुलनामा अक्टोबरमा कारको निर्यात करीब ३७ प्रतिशतले घटेको छ । जापानको सबैभन्दा ठूला दुई ओटा व्यापार साझेदार चीन र अमेरिकातर्फको निर्यात करीब आधाले घटेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

आयात अपेक्षाकृत सुस्त अर्थात् २६ दशमलव ७ प्रतिशतले बढेको छ ।आपूर्ति श्रृंखलामा देखिएको समस्याका कारण यस वर्ष विश्वभरका अर्थतन्त्र प्रभावित भएका छन् । विशेषगरी कम्प्युटर चिपको अभावका कारण कार निर्माता कम्पनीहरु मारमा परेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com