
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबारको नेपाल बन्द आफ्नो रहर नभएर बाध्यता भएको बताएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा पार्टीले सोमबार साँझ बाध्यताले नेपाल बन्द गर्नुपरेको बताएको हो ।
“सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ,” विप्लव समूहले भनेको छ, “यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको आन्दोलन हाम्रो मात्र नभई आमजनसमुदायको साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो ।”
मंगलबार नेपाल बन्द गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने भएको छ ।
न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ । प्रधानन्यायाधीश बहिर्गमनका लागि अधिवक्ताहरु दिनहुँ धर्ना र नाराबाजी गरिरहेका छन् । यसैक्रममा मंगलबार घोषित नेपाल बन्दमा आन्दोलन के हुने अन्योलका बीच बार महासचिव लिलामणी पौडेलले सोमबार साँझ विज्ञप्ति जारी गरेर बन्दमा अधिवकतालाई अवरोध नहुने जानकारी गराएका छन् । विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा भोलि नेपाल बन्द आह्वान गरेको छ । एजेन्सी