मस्कले यही हप्ता बेचे ७ अर्ब डलरको शेयर

-


     नेपालय न्युज    
     कार्तिक २८ गते २०७८


सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यही हप्ता कुल ६ अर्ब ९० करोड डलर बराबरको शेयर बेचेका छन् ।

मस्कले आफ्नो ट्रष्टको नाममा रहेकोे १२ लाख कित्ता शेयर १ अर्ब २० करोड डलरभन्दा धेरेमा बेचेका अमेरिकी शेयर नियामकमा बुझाइएको फाइलिङमा भनिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अनुमोदन गरे आफूले आफ्नो १० प्रतिशत शेयर बेचिदिने भन्दै गत शनिबार मस्कले ट्विट गरेका थिए । ट्विटको समयमा १० प्रतिशत शेयर १ करोड ७० लाख कित्ता बराबर थियो ।

यही हप्ता उनले करीब ६३ लाख ६० हजार कित्ता शेयर बेचिसकेका छन् । यो १ करोड ७० लाख कित्ता शेयरको करीब ३७ प्रतिशत हो । आफूले गरेका बाचा पूरा गर्न मस्कले अब करीब १ करोड कित्ता शेयर बेच्नु पर्नेछ । पछिल्लो समय टेस्लाको शेयर मूल्य निरन्तर बढिरहेको छ ।

कम्पनी विश्वमै सबैभन्दा मूल्यवान अटो कम्पनीका रुपमा रहेको छ । यसको बजार पूँजीकरण पनि १० खर्ब डलरमाथि छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com