
विष्णुप्रसाद पौडेल । न्युयोर्क
आउँदो नोभेम्बरको २८ मा जनजाति महासंघले रक्तदान गर्ने कार्यक्रम छ । महासंघले वर्षेनी रक्तदान गर्दै आएको छ । महासंघका अध्यक्ष लोक चेम्जोङ वर्षेनी डिसेम्बरमा रक्तदान गर्दै आएको बताउँछन् । भन्छन्, ‘यसपालिचाहिँ नोभेम्बर २८ मा गर्ने गरी हल बुक गरिसक्यौं ।’ चाम्लिङ आफैं पनि वर्षमा ३/४ चोटि रक्तदान गर्छन् । अहिलेसम्म कतिपटक रक्तदान गरें भन्ने हिसाब भने उनले राखेका छैनन् ।

जीवनमा पहिलोपटक भने धनकुटामा पढ्दा त्यहाँको क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका थिए । सन् २०१५ मा अमेरिका आएका उनले त्यसलगत्तै २०१६ मा अमेरिकामा पहिलोपटक रक्तदान गरेका थिए ।
जनजाति महासंघ मात्रै होइन, अमेरिकामा भएका धेरै नेपाली संस्था नेपाली जनसम्पर्क समिती अमेरिका , प्रबासी नेपाली एकता मञ्च अमेरिका, एनआरएनए अमेरिका ,फिफ्ना, चोम्लोङ, मगर संघ, तमु संघ, लगायतले रक्तदान गरिरहन्छन् । चेम्जोङ भन्छन्, ‘कुनै न कुनै महिला नेपाली संघसंस्थाका रक्तदान यहाँ भइरहन्छन् ।’

सञ्जय थापाले ७८ पटक रक्तदान गरे । २००७ मा अमेरिका आएपछि अमेरिकन रेडक्रसको अपोइन्टमेन्ट लिएर ४ जना रक्तदानका लागि गएका थिए । अर्जुन मैनालीसँग सल्लाह गरेपछि काउन्टी÷काउन्टीमा धाएर रक्तदान गर्नुभन्दा एउटा संस्था खोल्ने योजना बनाएर रक्तदानको चेतना फैलाएको उनी बताउँछन् । भन्छन्, ‘अनि रक्तदान पनि गर्ने भनेर ब्लड डनर्स अमेरिका भनेर बनायौं । त्यसमा अर्जुन मैनालीजी अध्यक्ष हुनुहुन्थ्यो, हामी बोर्ड सदस्य थियौं । म त्यति बेला युएनडिफमा थिएँ, अरु संस्थाहरुलाई पनि जोड्दै गयौं ।’ अहिले अमेरिकामा रक्तदानका लागि नेपाली समुदाय अग्रपंक्तिमा छ । न्युयोर्क, टेक्सस, कोलोराडोमा पनि गर्ने गरिएको छ ।

हो, सञ्जय थापाले भनेजस्तै अमेरिकाको नेपाली समुदायमा रक्तदानको जागरण फैलाउने श्रेय धेरैले अर्जुन मैनालीलाई दिन्छन् । हुन पनि मान्छेहरु अर्जुन मैनालीलाई उनको पेसा वा व्यवसायबाट चिन्दैनन् । उनको धन सम्पति कति छ भन्ने पनि कुनै सरोकारको विषय होइन । अर्जुनको एकमात्रै परिचय हो—रक्तदाता । हो, अर्जुन विश्वव्यापी रुपमै रक्तदाताका रुपमा कहलिएका छन् । मैनाली ६ वटै महादेशका १७ वटा देशमा पुगेर झन्डै २ सयपटक रक्तदान गरिसकेका छन् । सन् २०१४ मा विश्वभर नै सबैभन्दा धेरै ६ पटक रक्तदान र प्लेटलेट्स दान गरेर अर्जुनले कीर्तिमानी कायम गरेका थिए ।
अर्जुनको कर्ममा विश्वास गर्ने, त्यसमा साथ दिने र त्यसैबाट प्रेरित भएर रक्तदानमा सरिक हुँदै अरुलाई पनि हौसला दिने नेपालीहरुको संख्या बढेको बढ्यै छ । शर्मिला शेरचनले सुरुमा रक्तदान गरेको २०१९ मा हो । खासमा त्यो अर्जुन मैनालीले रक्तदान गरिरहेकै समाचारहरुको प्रेरणा थियो । आफूलाई अहिले रक्तदानप्रति आत्मविश्वास बढेकोमा उनी गर्व गर्छिन् । तर अझ नेपालीहरुले रगतबारे नबुझेर हो कि डराएर हो दिन नमानेको देख्दा भने अचम्म लाग्छ ।

अर्जुनकै पहल कदमीमा खुलेको हो अमेरिकामा ब्लड डनर्स अमेरिका । उक्त संस्थाको उपाध्यक्ष भइसकेको सञ्जीव श्रेष्ठ मान्छेमा अहिले समाजसेवामा इच्छा जागेपछि रक्तदान पनि निस्वार्थ समाजसेवा हो भन्ने भाव बढेको बताउँछन् । श्रेष्ठ भन्छन्, ‘खेर जाने रगतलाई उपयोग गरौं भन्ने नेपाली चेतना बढेको छ ।’ श्रेष्ठ आफैंले अहिलेसम्म ४७ पटक रक्तदान गरिसके । २०४५ देखि रक्तदान गरिरहेका उनले अमेरिका आएपछि पहिलोपटक सन् १९९८ मा रक्तदान गरेका थिए । २४÷२५ ठाउँमा यस संस्थाले काम गरिरहेको छ । अर्जुन मैनाली, याम अधिकारीहरुले संस्था खोलेर लागेकोमा उनी खुसी व्यक्त गर्छन् ।

नेपालमा छँदै रक्तदानमा लागिरहने विश्वराज बास्तोलालाई अमेरिकामा अर्जुन मैनाली भेटिएपछि झन् हौसला मिल्यो । अमेरिका आएपछि उनको बसाइ लङआइल्यान्डमा बसाइ भयो । आफू पनि सामाजिक कार्यमा लागिरहने हुँदा अमेरिकामा रक्तदान अभियन्ता अर्जुन मैनालीसँग भेट भएपछि थप प्रेरित भएको बास्तोला बताउँछन् । ‘२०११ को अक्टोबरमा मैले पनि रक्तदान गरेको थिएँ । अर्जुन मैनालीको अभियानमा म पनि सहभागी हुन पाउँदा खुसी लाग्छ, गर्व लाग्छ,’ उनी भन्छन्, ‘जुन कार्यक्रममा जाँदा पनि उहाँ (अर्जुन) ले रक्तदानको महत्वबारे बताउनुहुन्छ । लङआइल्यान्डको नेपाली सम्पर्क समाजको नेतृत्वमा रहँदा मैले धेरैपटक रक्तदान कार्यक्रम आयोजना गरेको छु ।’

सग्लो शरीरमा सियो घोचेर अर्काका लागि रक्तदान गर्नु उच्च मानवीय कार्य भएको बास्तोलाको भनाइ छ । भन्छन्, ‘यस्तो कार्यमा लागिरहनु भएका अर्जुन मैनालीसँग भेटघाट गर्दा कार्यक्रममा हिँड्दा उहाँबाट निकै प्रभावित हुन्छु । बोले पनि गरिहाल्नुपर्छ भन्ने उहाँको स्वभाव छ । खाजा खाँदा पनि हामीलाई पैसा तिर्न नदिने । पैसा तपाईंले मात्रै तिर्ने हो भने म त हिँड्दिन तपाईंसँग समेत भन्नुपर्ने भो ।’ अरुका लागि यसरी मरिमेटेर लाग्ने मान्छे संसारमा कमै हुन्छन्, जस्तो अर्जुन मैनाली भन्ने उनको भनाइ छ । ‘धर्म भन्ने कुरा कुनै यज्ञ गरेर हुने होइन, अर्जुन मैनालीले जसरी नै अरुका लागि जीवन बचाउन लाग्नु नै धर्म हो,’ बास्तोला भन्छन् ।
पत्रकार विकासराज न्यौपाने अर्जुन मैनालीको कर्मलाई महानताको उपमा दिन्छन् । नेजाका अध्यक्ष उनी रगत दियो भने सकिन्छ भन्ने भ्रम हो भन्छन् । ‘बरु रगत दियो भने अरु कसैको जीवन जोगिन्छ, दिनेको केही सकिन्न । रगत हाम्रो शरीरमा ३÷३ महिनामा फेरिन्छ भनेर त विज्ञानले पुष्टि गरिसकेको छ,’ उनले भने, ‘जीवनमा धेरै पुण्य गर्न सकिने काम छन्, त्यसमध्ये रक्तदान उत्कृष्ट पुण्य हो ।’
कुनै जमानामा विकास पनि नेपालमा रक्तदाता क्लबसँग आवद्ध थिए । नेपालमा हुँदा पनि रक्तदान गरेको थिए । त्यहाँ जनचेतना अझै कम छ । रक्तदानका लागि अमेरिकामा नेपालीहरु माझ माहोल बनाउने कामचाहिँ अर्जुन मैनालीले गरेको न्यौपानको भनाइ छ । भन्छन् ‘उहाँले रक्तदानका लागि झक्झक्याइरहनुपर्छ । जन्मदिनमा रक्तदान गरौं भनेर उहाँले भनिरहनुहुन्छ । नेपालीहरुमा रक्तदानको जागरण ल्याउने अर्जुन मैनाली हुनुहुन्छ भन्ने कुरा भनिरहनु नै पर्दैन । यो कुरा सबैलाई विदितै छ ।’

रक्तदान अभियान चलाउनु नै महानता मान्छन् न्यौपाने । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पनि रक्तदान कार्यक्रम गर्दै आएको उनले सुनाए । हरेक मान्छेले ३÷३ महिनामा रक्तदान गर्न सक्ने भएको हुँदा कुनै न कुनै संस्थाले आयोजना गरेका कार्यक्रममा रक्तदान गर्नुपर्छ भन्ने आफ्नो पनि मान्यता रहेको उनी बताउँछन् । ‘विशेषत नेपालीहरु माझ अमेरिकामा रक्तदानको जागरण ल्याउनुभएका अर्जुन मैनालीको अभियानलाई हामी सबैले साथ दिऊँ र सबैले सक्दो रक्तदान गरौं भन्न चाहन्छु,’ उनले भने ।
ब्लड डोनर्स अफ अमेरिका भन्ने संस्थाका संस्थापक अर्जुन मैनाली हुन् । अहिले भने लीलाराज दाहाल अध्यक्ष छन् । दाहाल इबोलाका बेला, कोरोनाका बेला पनि रक्तदानका कार्यक्रम गरेर जीवन बचाउने काममा लागेको सुनाउँछन् । कतिपय मानिसहरुमा रहेका भ्रम हटाउने, स्वास्थ्य सम्बन्धी कुराकानी गर्ने काममा यो संस्था केन्द्रित छ । ब्लड डनर्स अफ अमेरिका २००९ मा स्थापना भयो । नाम नै अनुसार यसको मुख्य उद्देश्य रक्तदान गर्नेहरुलाई प्रोत्साहन गर्नु नै हो । पछि चाहिँ स्वास्थ्य वार्ताहरु गराउने, स्वास्थ्य गतिविधि बढाउने हिसाबले आयोजना गर्ने काम यो संस्थाले गर्दै आएको छ ।
कोरोना सुरु भएपछि २०२० मार्चतिर कोरोनाको बारेमा दिनहुँ जस्तो हेल्थ टक कार्यक्रम पनि संस्थाले राखेको थियो । न्युयोर्क राज्यमै दर्ता भएको हो यो संस्था । २०१३ सम्म त न्युयोर्कमा मात्रै चल्यो । त्यसपछि अन्य राज्यहरुमा पनि राज्य लेभलको संस्था बनाएर दर्ता भएको छ । अहिले २२ वटा राज्यमा यो दर्ता छ । २ राज्यमा पनि संस्था दर्ताको प्रक्रियामा छ ।
रक्तदान सुरुमा एकै ठाउँमा मात्रै गरे पनि अहिले त थुप्रै राज्यमा संस्थाले आयोजना गर्दै आएको छ । ४ सय बढी लाइफटाइम सदस्य छन् । यो संस्थाले अरु संस्थाहरुसँग पनि मिलेर रक्तदान कार्यक्रम गरिरहेको छ । गत वर्ष सेप्टेम्बर २६ मा अन्य नेपाली संस्थाहरुसँग मिलेर रक्तदान गर्दा १७५ पिन्टजति रगत संकलन भएको थियो ।
ब्लड डोनर्स अफ अमेरिकाले १० हजार पिन्ट जति रगत संकलन गरिसकेको छ । दाहाल भन्छन्, ‘रक्तदान गर्नुपर्छ भनेर नेपालीहरुमा चेतना फैलिएको छ । पहिला हामीले रक्तदानका कार्यक्रम आयोजना गर्यौं । पछि अरु संस्थाले पनि के गर्ने त भन्दा सजिलो उपाय रक्तदान गर्ने भन्न लागे । यसले नयाँ लहर ल्याइदियो । यसले गर्दा धेरै जना उत्साहित भएर रक्तदान गर्न थालेका छन् ।’ रक्तदान गर्ने सबैको डाटा ब्लड डोनर्स अफ अेमेरिका संस्थासँग छ ।

नेपालीहरुले रक्तदान गरेको देख्दा थुप्रै अमेरिकीहरु धन्यधन्य भएको अनुभव सुनाउँछन् अध्यक्ष दाहाल । भन्छन्, ‘अमेरिकीहरु नै घुमफिर गरेर पैसा सक्छन्, तिमीहरु कहाँकुनाको मान्छे आएर ज्यान बचाउने काम गरिरहेका छौं भन्दै आँसु चुहाउँदै ८७ वर्षे वृद्धले बोल्नुभएको थियो ।’ रक्तदानकै कारण एक किसिमले यहाँको समुदायमा नेपाली समुदायप्रतिको सकारात्मकता बढ्दो रहेको दाहालको बुझाइ छ । ‘हामी नेपाली समुदायले यहाँ गर्ने गतिविधि पूरै नेपाली संस्कृतिमै आधारित छ । यसले नेपाली संस्कृतिबारे विदेशीले जान्ने मौका पनि बढेको छ,’ उनी भन्छन् । त्यहाँ रगत अभाव भए ब्लड डोनर्स अफ अमेरिका संस्थालाई फोन आउँछ ।