अछाम । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
गृहजिल्ला अछामको साँफेबगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
कार्यकर्ताको भावनाको कदर गर्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ । ‘मलाई हार्ने डर छैन,’ उनले भने, ‘कार्यकर्ताको भावनालाई कदर गर्दै अध्यक्षमा उठ्ने तयारी गरेको छु ।’
उनले चुनावमा उठ्दा केपी ओलीदेखि माधव नेपालसम्म पटक पटक हारेको स्मरण गरे। ‘चुनावमा उठेपछि नहार्ने को छ र? आठौं महाधिवेशनमा केपी ओली र म एकै प्यानलमा हारेका थियौँ। म संविधानसभामा हारेको थिएँ, २०४८ सालमा पनि हारेकै हो। माधव नेपालले पनि काठमाडौंमा चुनाव हारेका थिए’, उनले भने, ‘चुनावमा उठेर हार्ने जित्ने मुख्य कुरा होइन। मुख्य कुरा त देशको लागि, समानताका लागि झण्डा उठाउने कुरा हो। कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु।’
उनले आफूले एमालेलाई अदालतको फैसला अनुसार अघि बढाऊँ मात्रै भनेको बताए। ‘अन्तरपार्टी निर्देशन १२ सबैतिर लागु भयो। झापामा पनि लागु भयो। तर सुदूरपश्चिममा लागु भएन १० बुँदे र अपानि १२ पनि’, उनले भने, ‘बैठकमा नेतृत्वले मेरो कुरा नसुनेपछि पार्टीभन्दा बाहिर बोलेको हुँ। एमालेलाई एक बनाऊँ भनेको हो मैले। म अहिले पनि एमाले २०७५ जेठ २ को अडानमा यथावत छु। हाम्रो पार्टी नफुटोस्, कार्यकर्ता नफुटुन्, गाउँ गाउँमा झगडा नहोस् भनेको हो।’
कार्यक्रममा उहाँले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।