अमेरिकाले साउदी अरबलाई ६५ करोड डलर बराबरको एयर टु एयर मिसाइल बिक्री गर्ने अनुमति दिएको पेन्टागनले जानकारी दिएको छ । जो बाइडन सरकारले खाडी मुलुकसँग गरेको यो पहिलो हतियारसम्बन्धी सम्झौता हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै पेन्टागनले अमेरिकाको स्टेट डिपार्टमेन्टले रियादलाई वर्तमान र भविष्यमा हुने चुनौतीलाई सामना गर्न सहयोग गर्न हतियार बेच्ने अनुमति दिइएको जनाएको छ । यसमा म्यासेचुसेट्समा रहेका रेयथियन कम्पनी प्रमुख ठेकेदार कम्पनी रहने बताइएको छ । कम्पनीले एआईएम–१२०सी–७÷सी–८ मध्य दुरीको एयर टु एयर मिलाइस र यससम्बन्धी सामग्री उपलब्ध गराउने छ ।
केही महिनाअघि मात्र राष्ट्रपति बाइडेनले यमनमा साउदीको आक्रमक अपरेसन र हतियारको बिक्रीमा सहयोग अन्तय गर्ने बताएका थिए । स्टेट डिपार्टमेन्टको राजनीतिक र सैन्य मामिला ब्यूरोले जमिनमा रहेको लक्ष्यका लागि सो क्षेप्यास्त्र प्रयोग नहुने पनि जनाएको छ । गत सेप्टेम्बरमा अमेरिकाले साउदीसँग ५० करोड डलर बराबरको हेलिकप्टर मर्मतसम्बन्धी सहमति गरेको थियो ।
अलजजिरा