जसवन्तको डकुमेन्ट्री डिस्कभरी च्यानलमा

-


     नेपालय न्युज    
     कार्तिक १६ गते २०७८


डिस्कभरी एसिया च्यानलले एमी मनोनित तथा विभिन्न अवार्ड विजेता जसवन्त देव श्रेष्ठद्वारा निर्माण र निर्देशन गरिएको ‘फेस्टिभल्स’ डकुमेन्ट्री सिरिजको प्रिमियर गर्ने घोषणा गरेको छ ।

सन् २०२१ नोभेम्बर १७ मा डिस्कभरी च्यानलमा १७ वटा एसियाली मुलुकहरुमा जसवन्त देव श्रेष्ठको डकुमेन्ट्री ‘फेस्टिभल्ज’ को प्रिमियर हुने भएको हो ।

सिंगापुर, ताइवान, थाइल्याण्ड, अफगानिस्तान, ब्रुनाई, कम्बोडिया, हङकङ, इन्डोनेसिया, लाओस, मकाओ, मलेसिया, मंगोलिया, मरिसस, म्यानमार, पपुवा न्युगिनी, सेसेल्स आइल्यान्ड र फिलिपिन्समा डिस्कभरीले डकुमेन्ट्री प्रदर्शन गर्नेछ । फेस्टिभल्ज नेपालका ५ लोकप्रिय सांस्कृतिक चाडपर्वको कथावस्तु समेिटएको ५ भागको डकुमेन्ट्री सिरिज हो । यस सिरिजमा दसैं, तिहार, सरस्वती पूजा, महाशिवरात्री र गाईजात्रा गरी पाँच पर्व समेटिएको छ ।

३ वर्ष लगाएर डकुमेन्ट्री तयार पारिएको निर्देशक श्रेष्ठ बताउँछन् । डिस्कभरी एसिया च्यानलसँग साझेदारी गर्न पाएकोमा गर्व लागेको पनि उनले बताए । ‘एकदमै नजिक छ र मेरो देशका लागि यो एउटा न्यानो प्रेमपत्र जस्तो छ,’ श्रेष्ठले भने, ‘डकुमेन्ट्री सिरिजले नेपालको भव्य सांस्कृतिक सम्पदा र पर्यटन उद्योगलाई प्रबद्र्धन गर्न सहयोग गर्नेछ । हाम्रो देशले मेरो लागि के गरेको छ वा के गर्न सक्छ भन्ने कुरा यो होइन; बरु, म आफ्नो देशको लागि के गर्न सक्छु भन्ने कुरालाई यसले उजागर गरेको छ ।’

क्रिएिटभ हाइट्स इन्टरटेनमेन्टमार्फत उक्त डकुमेन्ट्री बनेको हो । यो अमेरिकाको टेलिभिजन कार्यक्रम निर्माण गर्ने कम्पनी हो । कम्पनी हलिउड, लस एन्जलस, क्यालिफोर्नियामा अवस्थित छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com