काठमाडौँ । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन् भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नियोग प्रमुख थिए । प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक थिए ।
यस्तै सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् । संसद्को चालु अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । बिहीबारको प्रतिनिधिसभा बैठक पनि एमालेका सांसदले नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।