पोखराको पर्यटन : आन्तरिक पर्यटकको आगमनले जगायो आशा

-


     नेपालय न्युज    
     कार्तिक ६ गते २०७८


कात्तिक ६, पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ ।

सरकारले निषेधाज्ञा खुला गरेसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । त्यसो त पोखराको मौसम पनि यतिबेला निकै खुलेको छ । माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएका छन् ।

दशैंतिहारको समय प्रायः भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पोखरा जाभा कफी हाउसका सञ्चालक एकराज न्यौपानेले बताए ।

उनका अनुसार लामो समयपछि दशैंतिहारको समयमा लेकसाइडको सडकमा चहलपहल देखिएको छ । विदेशी पाहुना नदेखिए पनि आन्तरिक पाहुनाको आगमनले केही उत्साह थपेको छ ।

लेकसाइड हल्लनचोकमा वन स्टप ट्रेकिङ इक्विपमेन्ट शपका सञ्चालक प्रमोद भण्डारीले पनि सुस्ताएको व्यवसायमा आन्तरिक पर्यटकको आगमनले केही आशा पलाएको बताए ।

हल्लनचोकस्थित होटेल दिदीका सञ्चालका विष्णु गुरुङले पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो भएको बताए । पछिल्लो समय नेपालीहरुमा पनि घुम्नेडुल्ने संस्कृतिको विकास हुँदै गएको उनको भनाइ छ । उनका अनुसार अघिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घाम्द्रुक, मर्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अष्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पाहुनाहरु आएका छन् ।

होटेल भिजिटर्स इनका सञ्चालक शर्मिला न्यौपानेले पनि कोभिड–१९ विरुद्धको खोपको सहजता र निषेधाज्ञा खुकुलोसँग यतिबेला लेकसाइडमा पाहुनाको चहपहल राम्रो रहेको बताइन् । सरकारले विदेशी पर्यटकका लागि आगमन सहज गराएसँगै विस्तारै बाह्य पर्यटकको पनि आगमन बढ्ने सक्ने उनको विश्वास छ ।

पश्चिमाञ्चल होटेल एसोसिएसन (हान) का केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार अहिले पोखरामा सात सय पर्यटकीय होटेल सञ्चालनमा छन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही वर्ष लाग्ने भए पनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको उनको भनाइ छ । पर्यटन क्षेत्रको विकासका लागि राज्यस्तरबाटै नीतिगत रुपमा नै पर्यटन पुनरुत्थानका विशेष कार्यक्रम ल्याउन जरुरी रहेको पनि उनले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको बताउँदै अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गर्छन । उनका अनुसार हालै पोखरामा ११ ओटा देशका कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको छ । अब पर्यटन पुनरुत्थाको कार्यक्रममा जोड दिनुपर्छ ।

पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुङ्गा शयर गरी बाराही मन्दिर दर्शन गर्नेको सङ्ख्या पनि बढेको डुङ्गा सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनका अनुसार अहिले दैनिक डेढ सयदेखि दुईसय डुङ्गा चलिरहेका छन् । फेवातालमा ७७५ ओटा डुङ्गा छन् । त्यसैगरी साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ, बञ्जी जम्प, जिप प्लायर, अल्ट्रालाइड उडानमा पनि आन्तरिक पाहुना रमाइरहेको पाइन्छ ।

पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्थाले पनि आन्तरिक पर्यटन पुनरुत्थानका लागि सरोकारवालासँग अन्तक्रिया एवम् अन्तरप्रदेश भ्रमणका कार्यक्रमलाई पनि जोड दिंदै आएका छन् । रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com