सीताराम बराल,
भुटानका राजा जिग्मेकेशर नाम्गेल वाङ्चुक बौद्ध धर्मावलम्बी हुन्। तर यसपालि उनले सेतो चामलको टीका लगाएर त्यहाँका नेपालीसँग हिन्दू धर्मावलम्बीको मानिने दसैं मनाएका छन्। विजया दशमी (२९ असोज) का दिन भुटानको दक्षिणी भाग गेलेफु पुगेर उनले नेपाली समुदायलाई टीकासमेत लगाइदिएका हुन्।
राजा जिग्मेले नेपाली समुदायको बाहुल्य रहेको गेलेफुस्थित शिवालय मन्दिरमा भेला भएका हिन्दू समुदायलाई दसैंको टीका लगाइदिएका हुन्। उनको फेसबुकमा राखिएका तस्बिरमा उनले सेतो चामलको टीका लगाएको र मन्दिरमा पूजा गरिरहेको देख्न सकिन्छ।
शिवालय मन्दिरमा पुग्दा बौद्ध राजा वाङचुकलाई पञ्चेबाजा, संस्कृतमा स्वस्तिवाचनका साथ बटुकहरूले स्वागत गरेका थिए। दसैंको टीका ग्रहण कार्यक्रममा राजा जिग्मेका साथ नेपाली समुदायको प्रतिनिधित्व गरेका थिए– आर्थिक मामिला मन्त्री लोकनाथ शर्माले।
‘राज्यका तर्फबाट नेपाली मूलका भुटानीहरूप्रति गरिने व्यवहार अझै सकरात्मक नभए पनि भुटानी राजाहरूले नेपाली र हिन्दू समुदायलाई दसैंका बेला टीका लगाइदिने गरेका छन्’, तीन दशकदेखि नेपालमा निर्वासित जीवन बिताइरहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भने, ‘त्यही परम्परालाई उनले यसपटक पनि निरन्तरता दिएका होलान्।’
भुटानका प्रधानमन्त्री लोटे छिरिङले भने दसैंको अवसरमा नेपालीसहित नेपालीभाषीहरुलाई भिडियो सन्देशमार्फत् शुभकामना व्यक्त गरेका थिए।
भुटानी राजाको नेपाल सम्बन्ध
नेपाली मूलका भुटानीहरूप्रति जस्तो व्यवहार हुने गरे पनि भुटानी राजा जिग्मेकेशर नामगेल वाङ्चुकको नेपालसँगकाे साइनो भने निकै गहिरो छ। उनी नेपाललाई निकै श्रद्धा गर्छन्। कारण– उनको जन्म नै काठमाडौंमा भएको हो। उनी ९ फागुन २०३६ मा थापाथलीस्थित प्रसूति गृहमा जन्मेका हुन्।
प्रसूति गृहको ‘डेलिभरी केस’सम्बन्धी दर्ता किताबमा ५ मंसिर २०३६ देखि ७ चैत २०३६ सम्मको विवरण हेर्दा उनको जन्म ९ फागुन २०३६ मा बिहानै छिरिङ याङ्दोनको कोखबाट भएको देखिन्छ। अस्पतालका तर्फबाट यो ‘डेलिभरी केस’लाई डा. दिव्येश्वरी मल्लले ‘ह्यान्डल’ गरेकी थिइन्।
वर्तमान राजा जिग्मे काठमाडौंमा जन्मेका बेला उनका बाबु जिग्मे सिग्मे वाङचुक भुटानको राजगद्दीमा बसिसकेका थिए। औपचारिक रूपमा रानी घोषणा भइनसके पनि राजाकी श्रीमती भएकाले होला, छिरिङ याङ्दोनको ‘डेलिभरी केस’लाई ‘ह्यान्डल’ गर्ने जिम्मा राजा त्रिभुवनकी छोरी डा. दिव्येश्वरीले पाएकी थिइन्।
नारायणहिटी राजदरबारको जाँचबुझ केन्द्रमा समेत काम गरिसकेका गृह मन्त्रालयका तत्कालीन उपसचिव ताम्ला उक्यावका भनाइमा– गर्भमा रहेको बच्चालाई जन्म दिन याङ्दोन आफ्ना दुई दिदी–बहिनीका साथ २०३६ मंसिरताका काठमाडौं आएकी थिइन्। गर्भवती भए पनि तत्कालीन राजा जिग्मे सिग्मेसँग उनको औपचारिक बिहे भने भइसकेको थिएन।
जिग्मे सिग्मेले याङ्दोनका चार दिदी–बहिनीसँग बिहे गरेका थिए। तर कसैलाई पनि रानी घोषणा गरेका थिएनन्। तीमध्ये वर्तमान राजाकी आमा याङ्दोन साइँली थिइन्।
भुटानी राजदरबारले आफ्ना राजाको काठमाडौं आगमन र प्रयोजनबारे नारायणहिटी राजदरबारलाई जानकारी गराएको थियो। २०३६ मंसिरताका नै काठमाडौं आइपुगेका भुटानका अघोषित महारानीहरूले टुँडिखेलमा १४ पुसमा मनाइने राजा वीरेन्द्रको जन्मोत्सवमा सहभागी हुने इच्छा समेत जाहेर गरेका थिए।
‘राजा वीरेन्द्रको जन्मोत्सवमा सहभागी हुन इच्छा जाहेर गरेपछि टुँडिखेलमा तीनै जना ‘रानी’लाई बस्ने स्थानको व्यवस्था गृह मन्त्रालयका तर्फबाट मैले गरेको थिएँ’, उक्याव भन्छन्, ‘उनीहरू राजा वीरेन्द्रको जन्मदिन भन्दा केही हप्ताअघि नै नेपाल आइसकेका थिए।’
खासमा नेपालका आफ्ना थुप्रै नातेदार रहेकाले भुटानी रानीहरू काठमाडौं आइरहन्थे। पूर्व परराष्ट्र सचिव डा. मदन भट्टराईका भनाइमा– सिन्धुपाल्चोकको तार्केघ्याङ्का तत्कालीन औतारी लामा कुशे छेचु डुक्पा लामा वर्तमान राजाका आमाका मामा थिए। आफ्नो मामाघर नेपालमा भएकाले उनीहरू काठमाडौं आइरहनु स्वाभाविक थियो।
यो पारिवारिक सम्बन्धका अलावा धार्मिक र आफ्नै छोरा राजा होस् भन्ने भाकलका कारणपनि गर्भमा रहेको बच्चालाई जन्म दिन छिरिङ याङ्दोन काठमाडौँ आएकी थिइन्।
हलेसीको भाकल
तत्कालीन राजा जिग्मे सिग्मेका चारवटा रानी एकै परिवारका दिदीबहिनी भए पनि उनीहरू हरेकले आफ्नो सन्तान नै भुटानी राजगद्दीको उत्तराधिकारी बनोस् भन्ने कामना गर्नु स्वाभाविकै थियो। नेपालमा जस्तै भुटानमा पनि छोरा मात्र गद्दीको उत्तराधिकारी हुने परम्परा थियो।
तर जतिबेला जिग्मे केशर जन्मे, त्यतिबेला जेठी रानी दोर्जी वाङ्मोबाट कुनै सन्तान भएको थिएन। माइली रानी छिरिङ पेमले एक बच्चाको जन्म दिएकी थिइन्। तर ती बच्चा छोरा होइन, छोरी (छिमी याङ्जोम वाङचुक) थिइन्। उनी २६ पुस २०३६ मा जन्मेकी थिइन्।
आफ्ना दुई दिदीमध्ये जेठीबाट कुनै सन्तान नजन्मेको, माइलीबाट छोरी मात्र जन्मेको र कान्छी साङ्गे पनि गर्भवती नभएको अवस्थामा छिरिङ याङ्दोनले आफ्नो गर्भमा रहेको बच्चा छोरा होस् भन्ने कामना गरिन्। यसका लागि उनले हलेसी महादेव (खोटाङ) को भाकल समेत गरिन्।
हलेसी महादेव हिन्दू धर्मावलम्बीका लागि त पुज्य छन् नै, बौद्ध धर्मावलम्बीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छन्। यही कारण बौद्ध धर्मावलम्बी भुटानी राजपरिवारका सदस्यहरू बेलाबेला दर्शनका लागि गोप्य रूपमा हलेसी पुग्ने गरेका छन्।
आफ्नो पेटमा रहेको बच्चा जन्मने मिति नजिकिँदै गएपछि याङ्दोन जेठी दिदी दोर्जी र कान्छी बहिनी साङ्गेसँगै २०३६ मंसिरमा काठमाडौं आइन्। र, केही हप्ता काठमाडौंमा बसेपछि ८ फागुन २०३६ मा थापाथलीको प्रसूति गृह भर्ना भइन्।
भर्ना भएको भोलिपल्ट बिहानै ३.४० मा उनलाई पुत्र लाभ भयो। अस्पतालमा रहेको यो जन्मसम्बन्धी रेकर्डमा नवजात शिशुको तौल ६ पाउन्ड ४ औंस उल्लेख छ।
जतिबेला जिग्मेकेशरको जन्म भयो, त्यतिबेला छिरिङ याङ्दोनले भुटानी राजदरबारबाट रानीको दर्जा पाइसकेकी थिइनन्। त्यसैले जिग्मेकेशर जन्मिँदै युवराज (ट्रोङ्सा पेन्लोप) का रूपमा जन्मेका होइनन्। साधारण नागरिकका रूपमा जन्मेका उनका लागि भुटानमा कुनै उत्सव आयोजना पनि गरिएन।
उनी औपचारिक रूपमा ट्रोङ्सा पेन्लोप (युवराज) बनेको १४ कात्तिक २०६२ (३१ अक्टोबर २००५) मा मात्र हो। जीवित छँदै बाबु जिग्मे सिग्मे वाङचुकले गद्दी छाडेपछि अर्काे वर्ष २३ मंसिर २०६३ मा उनी भुटानको राजा बनाइए।
नेपालसँगको आफ्नो यो सम्बन्धको चर्चा भुटानी राजाले नेपाली उच्च अधिकारीहरूसँगको भेटमा निकै गौरवका साथ गर्ने गरेका छन्।
भुटानका लागि समेत नेपालको राजदूत रहेका नयाँदिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले दुई वर्षअघि ३० असोज २०७६ मा राजा जिग्मेकेशरसँग भेट गरेका थिए। ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा भएको त्यो भेटमा राजा जिग्मेकेशरले आफ्नो जन्म काठमाडौंमा भएको र नेपाली जनतासँग आफ्नो सम्बन्ध निकै गहिरो रहेको उल्लेख गरेका थिए।
भुटानको राजधानी थिम्पुमा १५–१६ वैशाख २०७६ मा भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग पनि उनले आफू नेपालमै जन्मेको बताएका थिए।
खासमा भुटानी राजा काठमाडौंमा जन्मेका मात्र थिएनन्, उनको बाल्यकाल समेत यहीँ बितेको थियो।
जानकारहरूका भनाइमा– ५–६ वर्षको उमेरसम्म काठमाडौंमै बिताएका उनलाई स्कुल पढ्ने उमेर भएपछि भुटान लगिएको थियो।
नेपालखबरबाट