वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको नेटवर्थ बिल गेट्स र वारेन बफेटको नेटवर्थ जोड्दा बराबर भएको छ ।
उनी अहिले संसारको सबैभन्दा धनी व्यक्ति हुन् । शुक्रवार बिहान मस्कको नेटवर्थ २ खर्ब ३० अर्ब डलर बराबर रहेको ब्लुम्बर्गको बिलेनियर इन्डेक्सले देखाएको छ । इन्डेक्स अनुसार सूचीको चौथो स्थानमा रहेका गेट्सको नेटवर्थ १ खर्ब ३० अर्ब छ भने १० औं स्थानमा रहेका अर्का खर्बपति बफेटको चाँहि १ खर्ब २ अर्ब डलर छ । यसअघि गेट्स र बफेट दुबै संसारको सबैभन्दा धनी मानिस बनिसकेका छन् ।
मस्कले यस अघि जनवरीमा अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका सीईओ जेफ बेजोसलाई उछिनेर सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यति बेला मस्कको नेटवर्थ १ खर्ब८५ खर्ब डलर थियो । सन् २०१७ देखि बेजोस संसारकै सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका थिए ।
यस वर्षको अहिलेसम्मको अवधिमा मस्कको नेटवर्थ ६० अर्ब डलरले बढिसकेको छ । बिलेनियर इन्डेक्समा दोस्रो स्थानमा रहेका बेजोसको नेटवर्थ १ खर्ब ९१ अर्ब डलर छ । एजेन्सी