वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले नोभेम्बर ८ देखि कोरोना भाइरस विरुद्धको पूरा खोप लगाएका ३३ ओटा देशका यात्रीहरुका लागि सीमा खुला गर्ने भएको छ ।
ह्वाइट हाउसले घोषणा गरेको पछिल्लो नियमअनुसार यात्रा गर्नुभन्दा अगाडि ७२ घण्टाभित्र कोरोना भाइरसको परीक्षण गरेर नकारात्मक नतिजा आएको प्रमाण देखाउने यात्रीहरुलाई प्रवेशको अनुमति दिइनेछ ।
योसँगै गत वर्षको शुरुदेखि यात्रामा लगाइएको कठोर प्रतिबन्ध अन्त्य हुनेछ । यो नीति सार्वजनिक स्वास्थ्य, कठोर अनि सुसंगत नीतिद्वारा निर्देशित भएको ह्वाईट हाउसले भनेको छ ।
नयाँ नियम २६ ओटा यूरोपेली देशहरुका साथै ब्राजिल, बेलायत, चीन, भारत, इरान आयरल्यान्ड र दक्षिण अफ्रिकालाई लागू हुनेछ । एजेन्सी