
सन् २००८ मा हावाहुरीका कारण तत्कालीन अमेरिकी सिनेटर जो बाइडेनसहितको टोली चढेको हेलिकोप्टर एउटा हिउँको उपत्यकामा जबर्जस्ती ल्यान्ड गर्न बाध्य भएको थियो । यस इलाकामा राखिएको एम्बुसमा अमेरिकी टोली पर्न सक्ने खतरा थियो ।
बाइेडन अहिले अमेरिकाको राष्ट्रपति भइसकेका छन् । तर, तत्कालीन समय बाइडेनको परिवारसहितको टोलीलाई उद्धार गर्ने एक दोभासे अफगानिस्तानमा तालिबानी शासन फर्किएपछि खतरापूर्ण जीवन बाँच्न बाध्य थिए । उद्धारकर्ता अमल खलिली अहिले भने अफगानिस्तानबाट निस्किएका छन् । अगस्टयता उनले देश छाड्न चाहेको भन्दै अमेरिकामा भिसाको आवेदन दिएका थिए ।
अब उनी तालिबानी शासनमा अफगानिस्तान छाडेर हिँड्ने हजारौँ अफगानीमध्ये एक बनेका छन् । अमेरिकी विदेश मन्त्रालयका एक प्रतिनिधिका अनुसार खलिल र उनको परिवारले सुरक्षित तवरले अफगानिस्तान छाडिसकेको छ । र, उनीहरू पाकिस्तानमा छन् । ‘उनीहरूले अमेरिकी सरकारलाई ठुलो सहयोग गरेका थिए । र, यसरी सहयोग र समर्थन गर्नेहरूप्रति हामी आभारी छौँ,’ मन्त्रालयका प्रतिनिधिले भने ।
तालिबानले अगस्टमा सत्ता कब्जा गरेको केही सातामै अमेरिकी सेना अफगानिस्तानबाट फर्किएको थियो । त्यसयता, खलिलले आफु, आफ्नी श्रीमती र पाँचजना बालबच्चाको सुरक्षा गरिदिन राष्ट्रपति बाइडेनसँग याचना गरेका थिए । ‘मलाई उनमा विश्वास छ । मलाई विश्वास छ, उनले सबैकुरा गर्नसक्छन्,’ खलिलीले भनेका थिए ।
अमेरिकामा भिसाका लागि आवेदन दिएका खलिलीले भिसा पाए/नभएको विषय भने स्पष्ट भइसकेको छैन । उनी अमेरिका जान्छन् ,अर्को कुनै देश जान्छन् वा पाकिस्तानमै रहन्छन् भन्ने पनि स्पष्ट छैन । २००८ यता झन्डै ७० हजार अफगानीहरू ‘एसआईभी’ भिसाअन्तर्गत अमेरिका पुगेका छन् ।
बीबीसी