वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प व्यवसायिक पत्रिका फोर्ब्सको अर्बपतिहरुको सूचीको शीर्ष ४०० बाट बाहिरिएका छन् ।
ट्रम्प सूचीबाट बाहिरिएको यो २५ वर्षमा पहिलो पटक हो । फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ २ अर्ब ५० करोड डलर रहेको छ । यो अमेरिकाको सबैभन्दा धनी ४०० को सूचीमा रहन उनलाई चाहिएको भन्दा ४० करोड डलर कम हो ।
ट्रम्पको नेटवर्थ यस वर्ष पनि गत वर्षको जत्तिकै छ । गत वर्षको सूचीमा उनी ३३९ औं स्थानमा थियो । महामारी शुरु भएको बेलाको तुलनामा भने उनको नेटवर्थ ६० करोड डलर कम छ ।
कोरोना भाइरसको महामारी बीच प्राविधिक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । क्रिप्टोकरेन्सी लगायत अन्य सम्पत्तिको भाउ पनि बढेका छन् । तर ठूला शरहमा सम्पत्तिको भाउ सुस्त छ ।
यसैका कारण पनि घरजग्गा व्यवसायमा रहेको ट्रम्प सर्वाधिक धनी ४०० अमेरिकीको सूची बाहिर आएका हुन् । एजेन्सी