
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रको हितमा भए पास गर्नुपर्ने नभए अमेरिकालाई फिर्ता पठाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. खड्काले सम्झौता गरिएका मुद्दाहरु राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए।
समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताए। उनले सहमति नभइ र राष्ट्रिय हित बिपरित मुद्दाहरु पेस गर्न नमिल्ने पनि बताए। मन्त्री खड्काले राष्ट्रको हित बिपरित कुराहरु पास गर्न नहुने भन्दै सम्झौता गरिएका मुद्दाहरु राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए।
उनले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरूसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरु गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिए।
परराष्ट्रमन्त्री खड्काले भने, ‘राष्ट्रिय हित भनेको कुनै एउटा पार्टीको होइन, त्यसैले साझा सहमति हुन सक्यो भने मात्रै अहिले उठेका मुद्दाहरूलाई सम्बोधन गर्न सक्छौँ। होइन भनेदेखि खेलिन्छन् नै। त्यसैले हामीले सबैभन्दा पहिलो कुरा नेशनल युनिटी एप्रोच हुनुपर्यो, त्यो एप्रोच भएपछि मात्रै मोडल ठूलो हुन्छ। मसँग परराष्ट्रमन्त्रीको पद त छ, कपडा लगाउन पनि सिकाएको छ, पदले मलाई टाई र सुट पनि बाँध्न सिकाएको छ। तर मेरो नैतिक शक्ति भएन भने आत्मविश्वास हुँदैन। जहाँ नैतिक पावर हुँदैन त्यसले आत्मविश्वासलाई कमजोर बनाइदिन्छ। हामीले अहिलेका हाम्रा आउटस्ट्याण्डिङ इस्युहरु बाँकी मुद्दाहरु, सीमाका, बाँधका, एमसीसीका, बीआरआईको, यी सबै तमाम मुद्दाहरु हामीले सम्बोधन गर्न सक्नुपर्छ। त्यसैले मेरो सबैभन्दा पहिलो प्राथमिकता नै सहमति गर्ने हो। एमसीसी पनि सहमतिबाटै गर्ने हो। मैले भने हाम्रो हितमा छ भने पास गर्ने हो, हितमै छैन भने किन पास गर्ने? तर हितमा छ कि छैन भन्ने कुरा अनुसन्धान गरौँ, अनि समस्या विश्वसनीयताका छ।’
उनले थपे, ‘भदौ २९, २०७६ सालमा हामीले सही गरेर आएका छौँ एमसीसीको। त्यो सही के हो त, अर्थमन्त्रीबाट नेपालको तथा धेरै मुलुकको अर्थमन्त्रीले हस्ताक्षर गर्दै आउनुभएको छ। त्यसमा फेरि संयुक्त सरकार, खास गरी दुईवटा माओवादी र कांग्रेसको सरकार थियो। अब त्यसलाई हामीले पास गर्ने कि नगर्ने? त्यो भन्दाअघि हामीले किन अध्ययन गरेनौँ? बाबुरामजीदेखि अहिलेको प्रधानमन्त्री शेरबहादुर ठेउवासम्म आइपुग्यो ७ जना प्रधानमन्त्री इन्भल्व भइसक्नुभयो। अहिलेसम्म आइपुग्दा किन अध्ययन हुन सकेन? होएर आर विइ? कहाँ छौँ हामी? हामीले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को आवाज गर्यौं भने विश्वसनीयता गुम्छ, अनि पत्याउँदैनन् हामीलाई। हामी कमजोर हुन्छौँ। हाम्रो हितमा छैन भने भनौँ माई डियर अमेरिका फ्रेन्ड्स हामीले हाम्रो हितमा पाएनौँ सरी, तर हामीले सही गरिसक्यौँ अब के गर्ने।’
बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अबको परराष्ट्रनीति कस्तो बनाउने भन्ने बारेमा छलफल गरेका थिए।
मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफमा अबको परराष्ट्रनीति नजिकका मित्र र अन्य परराष्ट्रहरूसँगको सम्बन्धलाई एकतावद्ध गरेर जानुपर्ने बताए। नेपालखबरबाट