बैंकक (थाइल्याण्ड) । कोभिड- १९ को महामारीसँगै आर्थिक संकटमा परेको थाई एअरवेजले चालू वर्षभित्रमा ४२ ओटा जहाज विक्री गर्ने तयारी गरिरहेको छ ।
कम्पनीसँग करीब १०० थान विमान रहेको छ । कोभिड महामारीका कारण सृजित आर्थिक संकटको सामना गर्न थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाई एयरवेजले जहाजहरु विक्री गर्ने र उडान गन्तव्य घटाउने तयारी पनि गरिरहेको छ । आर्थिक संकटमा परेको यो कम्पनीले आफूसँग भएको जहाज विक्री गर्न लागेको हो।
खर्च कटौतीका लागि जहाजहरु विक्री गर्नुपरेको कम्पनीले बताएको छ। यसै अन्तर्गत कम्पनीले ४ हजार २५० जना कर्मचारी कटौती गरिसकेको छ। यसअघि कम्पनीमा करीब १० हजार जना कर्मचारी कार्यरत थिए ।
कम्पनीका नवनियुक्त अकाउन्ट एक्जिक्युटिभ चाइ आएमसिरीका अनुसार आगामी योजना अनुसार अब कम्पनीले ५८ ओटा जहाजमार्फत सेवा दिनेछ। कम्पनीले यो अवस्थामा विश्वभर कम र सीमित गन्तव्यमा मात्र आफ्नो सेवा दिनेछ।
उनले संवाददाताहरुलाई बताए अनुसार अव कम्पनीले पुरानो व्यवसायिक योजनाका संरचनाहरु परिवर्तन गरी नयाँ रणनीति अनुसार काम गरिरहेको छ । नयाँ रणनीति अनुसार अब कम्पनीले नाफामूलक गन्तव्यमा मात्र उडान गर्नेछ । आर्थिक संकटमा गुज्रिरहेको कम्पनीलाई पुनरुत्थानका लागि ५० बिलियन भाटको आवश्यकता छ। यसका लागि वित्तीय संस्था र सरकारी सहयोगको आवश्यकता रहेको छ ।
कम्पनीले कोभिड महामारीपछि बन्द रहेको उडान भने प्रथम चरणमा पाँच ओटा गन्तब्यबाट शुरु गर्न लागेको छ । उसले ती गन्तब्यका लागि शुक्रवारदेखि टिकट विक्री शुरु गरेको छ। शुरुवाती चरणमा इङल्याण्ड, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, जापानमा उडान हुने छन् ।
कम्पनीले ती मुलुकमा कोभिड- १९ विरुद्धको खोप सहज भएका कारण पुनः उडान शुरु गर्न लागेको हो। कम्पनीले चीनमा हुने उडान भने सन् २०२२ बाट मात्र शुरु गरिने योजना रहेको बताएको छ।
कोरोना भाइरसको महामारीका कारण यात्रा र पर्यटन क्षेत्रमा संकट उत्पन्न हुनुअघि नै थाई एयरवेज आर्थिक समस्यामा थियो । अहिले कम्पनीमा सरकारको स्वामित्व ५१ प्रतिशत छ ।एजेन्सी