अमेरिकामा २२ औँ ‘सटडाउन’ टर्‍यो, वित्त विधेयक पारित


     नेपालय न्युज,     
     असोज १५ गते २०७८


अमेरिकी बजेट इतिहासमा निम्तिन लागेको २२ औँ ‘गभर्मेन्ट सटडाउन’ टरेको छ । सरकारी कोषबाट सरकारले खर्च गर्न नपाउने स्थिति नै गभर्मेन्ट सटडाउन हो । यो स्थिति निम्तिन केही घण्टा मात्रै बाँकी रहँदा अमेरिकी कंग्रेसले वित्त विधेयक पारित गरेको हो ।

बजेट अभावमा सरकारी काम बन्द हुनुभन्दा केही घण्टा पहिले राष्ट्रपति जो बाइडेनले वित्त विधेयकमा हस्ताक्षर गर्दै आगामी डिसेम्बर पहिलो सातासम्मका लागि अस्थायी बजेट ल्याएका हुन् । विधेयकमा हस्ताक्षर गरे पनि उनले भने, ‘बजेटसम्बन्धी धेरै काम गर्न बाँकी नै छ, तर यो विधेयक पारित हुँदै गर्दा दलहरूबीच मिलेर काम गर्न सम्भव छ भन्ने महसुस भएको छ ।’

रिपब्लिकन र डेमोक्र्याट पार्टीबीच एक अस्थायी बजेट ल्याउन सम्झौता भएसँगै अब आगामी डिसेम्बर ३ तारिखसम्म सरकारी कामकाज चलाउन पाउने स्थिति बनेको छ । विधेयक पारित नभएको भए सरकारी सङ्ग्रहालय, राष्ट्रिय पार्क र सुरक्षा कार्यक्रम बन्द हुने थियो । यस वित्त विधेयकमा समुद्री आँधीको राहत कार्य र अफगान शरणार्थीहरूको पुनर्वासका लागि पनि रकम जारी गरिएको छ ।

यो वित्त विधेयकले सरकारी कामकाज निम्ति बजेट निर्धारण गरेको छ । अब त्यहाँ सरकारी कर्मचारीको तलब रोकिने चिन्ता पनि हटेको छ । विधेयक पारित नभएको भए अमेरिकामा आजदेखि नै सरकारी काम बन्द हुने अवस्था निम्तन्थ्यो । हजारौँ सरकारी कर्मचारीहरू बेतलबी छुट्टीमा बस्न बाध्य हुन सक्थे । साथै, कोरोना महामारीबाट थलिएको त्यहाँको स्वास्थ्य प्रणालीमा थप दबाब पर्ने पक्कापक्की थियो ।

अहिलेसम्म अमेरिकाले २१ पटक गभर्मेन्ट सटडाउन’ भोगिसकेको छ । पछिल्लो पटक त्यहाँ डोनाल्ड ट्रम्प राष्ट्रपति भएका बेला सन् २०१८ डिसेम्बर २२ देखि २०१९ जनवरी २५ सम्म ३५ दिन लामो सटडाउन भएको थियो । त्यतिखेरको सटडाउन अवधि अर्थात् ३५ दिनभित्र ११ बिलियन डलर (झण्डै १३ खर्ब रुपैयाँ) गुमाएको थियो । आठ लाख सङ्घीय कर्मचारी बेतलबी बिदामा बसेका थिए ।

आप्रवासन र मेक्सिको सीमामा पर्खाल लगाउने विषय बजेटमा नसमेटिएसम्म बजेट विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले अडान लिएका थिए । विपक्षीले पनि ट्रम्पको सो योजना बजेटमा नराख्न आपत्ति जनाएसँगै बजेटसम्बन्धी विधेयक पारित नहुँदा अमेरिकी सरकार सटडाउनमा फसेको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com