
गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
काठमाण्डुमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनले महिला सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताइन् ।
‘हरेक ठाउँमा महिला नेतृत्वमा आउनुपर्छ, तब मात्रै वास्तविक परिवर्तन हुन्छ’, थापाले भनिन्, ‘नेतृत्व पुगेको खण्डमा वैदेशिक रोजगारीलाई मर्यादित र व्यवथित गरी महिला र घरेलु कामदारका मुद्दालाई जोडतोडका साथ अघि बढाउँछु ।’
उनले नेतृत्व लिएर संस्थागत सुदृढीकरण गर्दै एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्ने पनि बताइन् ।
समारोहमा जयप्रकाश गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै एनआरएनएको संस्थागत विकास नै आजको आवश्यकता भएको औँल्याए । अर्का विनय अधिकारीले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले थापाको प्यानलबाट आफ्नो २२ बुँदे घोषणा सार्वजनिक गर्दै संस्थालाई राजनीतिबाट मुक्त गरी आर्थिक पारदर्शिता कायम गर्नेसहित भिजन ‘थर्टी–थर्टी’ को अवधारणा अघि बढाउने जानकारी दिए ।
यसअघि कूल आचार्यले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएका वर्तमान पदाधिकारीले विधानविपरीत प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछि आउँदो १०औँ महाधिवेशन अनिश्चित बनेको छ ।