आगामी नोभेम्बरमा भारतले बौद्धमार्गीहरुको विश्व सम्मेलन आयोजना गर्ने भएको छ। भारतको सांस्कृतिक परिषद् (आईसीसीआर)ले गतसाता सो घोषणा गरेको हो।
त्यो पहिलो विश्व बौद्ध सम्मेलन हुने उसको दाबी छ। बिहारको नालन्दास्थित नव नालन्दा महाविहारको क्याम्पसमा नोभेम्बर १९ र २० मा सम्मेलन हुने जनाइएको छ।
‘आईसीसीआरले नोभेम्बरमा विश्व बौद्ध सम्मेलनको पहिलो संस्करण आयोजना गर्दैछ। यस वर्षको विषयवस्तु ‘साहित्यमा बौद्ध धर्म’ रहनेछ। यो सम्मेलन नव नालन्दा महाविहार र इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनसँगको सहकार्यमा हुन लागेको हो,’ आईसीसीआरका अध्यक्ष डा. विनय सहस्रबुद्धेले भने।
त्यसअघि भारतको धर्मशाला, गान्टोक, सारनाथ र तेलंगना तथा कम्बोडिया, जापान, दक्षिण कोरिया र थाइल्यान्डमा क्षेत्रीय सम्मेलनहरु पनि हुनेछ।
आईसीसीआर भारतको केन्द्र सरकार अन्तर्गतको स्वायत्त संस्था हो। यसको मुख्य जिम्मेवारी अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध विस्तार गर्नु हो।
‘यो प्राज्ञिक सम्मेलन हो,’ आईसीसीआरका महानिर्देशक दिनेश पटनाइले भने, ‘भारतलाई बौद्ध धर्मको केन्द्र कसरी बनाउने भनेर यो गर्न लागिएको हो। यो पर्यटनसँग सम्बन्धित छैन। बरु, भारतलाई प्राज्ञिक, सांस्कृतिक कार्यक्रम, सेमिनारजस्ता बौद्ध गतिविधिको केन्द्र बनाउनसँग सम्बन्धित छ।
सम्मेलनसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले बौद्ध अध्ययनलाई प्रबद्र्धन गर्न नयाँ अवार्ड पनि वितरण गर्ने परिषद्ले जनाएको छ। सो अवार्डमा २० हजार डलर नगद र स्वर्ण पदक समावेश हुने बताइएको छ। एजेन्सी