
कास्कीमा निषेधाज्ञा हटेको छ। निषेधाज्ञा हटेसँगै जिल्लामा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत होटल रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझहरु खुल्ने भएका छन्।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्ला दिनमा संक्रमण दर, मृत्यु दर घट्दै गइरहेको भन्दै दैनिक क्रियाकलापहरु संचालन गर्दा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य तथा सुरक्षा मापदण्डहरुको अनिवार्य पालना गर्दै संचालन अनुमति दिइएको छ ।
आदेश अनुसार विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित कोभिड -१९ संक्रमणको अवस्थामा शैक्षिक संस्था संचालन गर्दा अपनाउनु पर्ने कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा पठनपाठन संचालन गर्न सकिने छ भने, होटल रेष्टुरेन्टहरु पूर्ण सावधानी अपनाई बेलुका ७ :३० बजेसम्म मात्र संचालन गर्न पाइनेछ।
