ट्रम्पले युद्ध सुरु गर्नसक्ने भयमा अमेरिकी जनरलले चीनलाई फोन गरे : रिपोर्ट

-


     नेपालय न्युज    
     भाद्र ३० गते २०७८


एजेन्सी,

चुनाव हार्ने भयछिको अवस्थामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सुरु गर्न सक्ने त्रासमा अमेरिकाका शीर्ष सैन्य अधिकारीले चिनियाँ समकक्षीलाई टेलिफोन गरेको अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोष्ट दैनिकले जनाएको छ ।

अमेरिकी जोइन्ट चिफ अफ स्टाफ जनरल मार्क मिलीले चिनियाँ जनमुक्ति सेनाका जनरल ली जुओचेङलाई चुनावभन्दा चार दिनअघि अक्टोबर २०, २०२० र ट्रम्पका समर्थकले क्यापिटल भवनमा हमला गरेपछि जनवरी ८ मा फोन गरेको पत्रिकाले जनाएको छ ।

टेलिफोन संवादमा मिलीले लीलाई फोन गरेर अमेरिकाको अवस्था स्थिर रहेको र कुनै हमला नगर्ने र यदि हमला भई हाले पनि त्यसबारे आफ्ना समकक्षीलाई पूर्व जानकारी दिने बताएको रिपोर्टमा उल्लेख गरिएको छ । पत्रकारद्वय बब वुडवार्ड र रोबर्ट कोस्टाको नयाँ किताब ‘पेरिल’ मा आधारित भएर उक्त रिपोर्ट तयार गरिएको बताइएको छ । २०० जना स्रोतसँग कुराकानी तयार गरिएको उक्त किताब आगामी हप्ता सार्वजनिक गरिँदैछ ।

ट्रम्पले हठात् कुनै निर्णय लिन सक्नेबारे सचेत रहन भन्दै मिलीले सीआईएका निर्देशक जिना हास्पल र नेशनल सेक्यूरिटी एजेन्सीका प्रमुख पाउल नाकासोनसँग पनि छलफल गरेको बताइएको छ । हास्पेलले आफूहरु ‘निकै खतरनाक अवस्था’मा रहेको बताएको रिपोर्टमा उल्लेख छ ।

यता, ट्रम्पले एक विज्ञप्ति जारी गर्दै उक्त रिपोर्टलाई अतिरञ्जित बताएका छन् । उनले यदि यो सत्य भए मिलीमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

अलजजिराबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com