सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनले अमेरिकामा प्रतिघण्टा शुरुआती तलब करीब ६ प्रतिशतले बढाएर १८ डलरमा पुर्याएको छ ।
साथै कम्पनीले गोदाम घर र परिवहन कामदारका रुपमा थप १ लाद २५ हजार कर्मचारी भर्ना गर्ने भएको छ । मे महीनायता एमाजनले प्रतिघण्टा तलब बढाएर १७ डलरमा पुर्याएको थियो ।
केही स्थानमा कम्पनीले करारमा हस्ताक्षर गर्दा खेरि नै कर्मचारीहरुलाई ३ हजार डलर वा चार महीना अघिको तुलनामा तेब्बर बोनस दिइरहेको एमाजनका डेलिभरी सेवा उपाध्यक्ष डेभ बोजम्यानले बताएका छन् ।
कम्पनीले पछिल्लो समय तलबमा गरेको वृद्धि र एकमुष्ठ रुपमा दिइरहेको ठूलो आकारको बोनसले कर्मचारी भर्ती गर्न एमाजनले कत्तिको मरिहत्ते गरिरहेको छ भन्ने छर्लङ् बनाएको छ ।
कम्पनीले सन् २०१८ मा नै प्रतिघण्टा न्यूनतम् तलब १५ डलर कायम गरेको थियो । हालै मात्रै वालमार्टले पनि प्रतिघण्टा औसत तलब १६ डलर ४० सेन्टमा पुर्याएको थियो । एजेन्सी