अमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रिय एकताका लागि देशवासीलाई आग्रह गर्नुभएको छ ।
सन् २००१ सेप्टेम्बर ११ मा भएको ट्वीन टावर हमला भएको दिनको सम्झनामा एक भिडियो सन्देश जारी गर्दै बाइडेनले एकताकै कारण अमेरिका विश्वको सबैभन्दा ठूलो शक्ति बनेको बताउनुभयो । राष्ट्रपति बाइडेनले आक्रमणमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एकता र सहकार्यका लागि अपिल गर्नुभयो ।
२० वर्ष अघि भएको आतंककारी हमलामा २ हजार ९ सय ७७ जनाले ज्यान गुमाएका थिए । हरेक वर्ष घटनाले पीडा दिने गरेको राष्ट्रपति बाइडेनको भनाइ छ । आक्रमणपछि केही मुस्लिम अमेरिकीमाथि हिंसाको घटना बढेकोसमेत उहाँले स्वीकार गर्नुभयो ।
अफगानिस्तानमा रहेको आतंककारी समुह अल–कायदाका प्रमुख ओसामा विन लादेनको योजनामा चारवटा यात्रु विमान नियन्त्रणमा लिएर त्यसमध्ये दुई वटा विमान न्यूयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरस्थित ट्वीन टावरमा ठोक्काइएको थियो । अर्को एक विमान वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन बाहिर पेन्टागनमा ठोक्काइएको थियो ।
चौथो विमान पेन्सिलभेनियामा दुर्घटनामा परेको थियो । त्यसको करिब एक महिनापछि अमेरिकाले अलकायदाविरुद्ध अफ्गानिस्तानमा आक्रमण गरेको थियो । लामो समय कारबाही चलाएको अमेरिकी सेनाले सन् २०११ मा पाकिस्तानमा विन लादेनलाई मारिदिएको थियो ।
आतंककारी हमलालाई निर्मुल पार्न सैन्य कारबाही सुरु गरेको अमेरिकाले केही समय अघिमात्र अफ्गानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको छ । एजेन्सी