
उत्तर कोरियाको ७३ औं स्थापना दिवसमा सैन्य परेडको आयोजना गरियो जसमा सैनिकले हेजमेट सूट र ग्यास मास्क लगाएका थिए । उनीहरुको अनुहार पूर्ण रुपमा ढाकिएका थिए ।
उत्तर कोरियाको सरकारी मिडियामा मध्य रातमा आयोजना गरिएको यो सैन्य परेडको तस्बिर पनि सार्वजनिक भएको छ ।
यी तस्बिरमा सैनिक र कार्यकर्ता चम्किलो रातो रङको हेजमेट सूटमा मार्च गरिरहेको देखिएका छन् । उनीहरुको अनुहारमा ग्यास मास्क लगाइएको थियो ।

यतिबेला उत्तर कोरियाको कुनै पनि ठूला ब्यालेस्टिक मिसाइलको प्रदर्शन गरिएन ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन– पनि यो आयोजनामा उपस्थित थिए । उनी पहिलेको भन्दा केही दुब्लो देखिए । किम जोङ उन भीडमा मास्क बिना नै उपस्थित थिए र बच्चाहरुलाई अँगालो हालिरहेका थिए ।
सरकारी मिडियामा बिहिबार आएको तस्बिरमा परेडका बेला फायर ट्रक, ट्र्याक्टर र आतिशबाजी देखिएको थियो ।
यस्तै, सैनिकको हेजमेट सूट र ग्यास मास्क यो कुराको संकेत हो कि कोभिड–१९ सँग लड्नका लागि विशेष बल तयार गरिएको छ ।
उत्तर कोरियाले यतिबेला खानाको कमी र कोरोना महामारीका कारण बिग्रिएको आर्थिक स्थितिको पनि सामना गर्नुपरिरहेको छ ।
चीनको सरकारी मिडिया अनुसार चीनका राष्ट्रपति शी जिनपिङले किम जोङ उनलाई बधाई सन्देश पठाएका छन् ।
दक्षिण कोरियामा सोलस्थित बीबीसी संवाददाता लर बिकरका अनुसार उत्तर कोरियाले पछिल्लो एक वर्षमा यस्ता तीन परेडको आयोजना गरेका छन् जुन उनीहरुका लागि पनि असामान्य हो ।
उनका अनुसार हिजोको परेडमा विशेल रातो पोसाक लगाएका सैनिकमार्फत् सायद उत्तर कोरिया आफ्ना मानिसहरुलाई यो संकेत दिन चाहन्छन् कि उनीहरुले कोरोनाविरुद्ध लडाईं जारी राखेका छन् ।
यद्यपि, उत्तर कोरियाले आफ्नो देशमा कसैलाई पनि कोरोना संक्रमण नभएको र अहिलेसम्म कसैलाई पनि भ्याक्सिन नदिएको दाबी गर्दै आएको छ । एजेन्सी