अमेरिकामा कोरोना संक्रमण फेरि बढ्याे, नौ सातामा बिरामी संख्या ६ गुणा बढी

-


     नेपालय न्युज    
     भाद्र ११ गते २०७८


अमेरिकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । अघिल्लो वर्ष यही बेलाको भन्दा संक्रमित संख्या दोब्बर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

हाल अमेरिकाभर कोरोनाका १ लाख विरामी अस्पतालमा उपचाररत रहेको र यो संख्या गत वर्ष खोप उपब्ध नहुँदाको भन्दा दोब्बर भएको पनि उनीहरुले बताएका छन् । डेल्टा भेरियन्टको संक्रमणले विस्तारै चेतावनीको घण्टी बजाएको उनीहरुको भनाइ छ ।

अमेरिकी खाद्य तथा तथा औषधी प्रशासनका प्रमुख डा. पल ओफिटले खोप उपलब्ध हुँदाहुदै पनि हालैका दिनमा बढेको अस्पताल भर्ना हुनेको संख्याले पीडादायी दृष्य देखाएको बताए । यद्यपी अस्पताल भर्ना हुनेहरु अधिकांश खोप नलगाएकाहरु रहेका छन् । ‘गत अगष्टमा हामीसँग खोप थिएन तर अहिले आधा भन्दा बढी जनसंख्यालाई खोप लगाईसक्दा पनि अवस्था गत अगष्टको भन्दा धेरै खराब छ’ ओफिटको भनाई छ ।

कोरोना नियन्त्रणमा डेल्टा भेरियन्ट ठूलो चुनौती बनेको पनि उनले बताए । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्यांक अनुसार अहिले अमेरिकामा १ लाख ३१७ जना कोरोनाका विरामी अस्पतालहरुमा छन् । यो संख्या ९ साता अघिको भन्दा ६ गुणा बढी हो । खोप लगाएकाहरु संक्रमित भएर अस्पताल भर्ना हुने प्रतिशत ४ दशमलव ९ प्रतिशत रहँदा खोप नलगाएकाहरु भने २९ दशमलव २ प्रतिशत अस्पताल भर्ना हुनुपरेको पनि सो विभागले जनाएको छ ।एजेन्सी