नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणमा अनिच्छा देखाएका छन्।
बुधबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष ओलीले उपयुक्त समय आएपछि विश्राम लिन सकिने बताए। तर उनले त्यो उपयुक्त समयबारे केही पनि बोलेनन्।
करिब दुई वर्षदेखिको शक्ति संघर्षपछि वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गराएपछि राहत महसुस गरेका ओली मंगलबारको स्थायी कमिटी र बुधबारको पत्रकार सम्मेलनमा पनि प्रसन्न मुद्रामा देखिन्थे।
आफूविरुद्धको संघर्षमा नेपाललाई साथ दिएका १० जना स्थायी कमिटी सदस्य र पुस ५ को प्रतिनिधिसभा विघटनपछि एमालेमा आएका माओवादीका चार नेतालाई एकै ठाउँ राखेर बोल्दा ओलीमा माधवले छाडेको पीडा अलिकति पनि देखिएको थिएन।
तत्काललाई पार्टीको आन्तरिक संघर्षमा आफूविरुद्ध लाग्ने झलनाथ खनाल र माधवकुमार नेपाल एमालेबाट बाहिरिएपछि अब ओलीसँग दोस्रो पुस्ताका नेताहरुको बलियो साथ मिलेको छ। यस्तोमा तत्कालै नेतृत्वबाट विश्राम लिने संकेत ओलीले गरेनन्।
माधव नेपालले २०७५ जेठ २ अघिको एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदलाई लगेको अवस्थामा ओलीले मंसिरमा हुने १० औँ महाधिवेशनबाट फेरि दोहोरिने स्पष्ट सन्देश दिएका छन्।
१० औँ महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म निर्धारण गरिसकेको अवस्थामा पत्रकारहरुले विश्राम लिनेबारे ओलीसँग जिज्ञासा राखेका थिए। ‘अनुकूल समयमा मात्रै नेतृत्व हस्तान्तरण हुनेछ,’ ओलीले भने, ‘निर्विकल्प भन्ने केही हुँदैन, विकल्प त आइहाल्छ नि, तर त्यसका लागि उपयुक्त समय पर्खिनुपर्छ।’
उनले पत्रकार सम्मेलनका क्रममा १० औँ महाधिवेशनसम्मलाई कसैले चुनौती दिने अवस्था नरहेको पनि सुनाए। ‘महाधिवेशनसम्मलाई कसैले मलाई चुनौती दिइहालेको अवस्था छैन,’ उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमै छु।’
यसअघि पनि उनीनिकट नेताहरुले अबको निर्वाचन र महाधिवेशन पनि ओलीकै नेतृत्वमा हुने बताउँदै आएका छन्। ओलीले यसबारे खुलेर नबोले पनि तत्कालै विश्राम नलिने उल्लेख गरेका छन्।
यसअघि ओलीले ‘केपी ओली एउटै कक्षा दोहोर्याएर पढ्दैन’ भनेर नदोहोरिने बताउँदै आएका थिए।
उनीनिकट नेता शंकर पोखरेलले पनि ओलीले तत्कालै विश्राम लिने सम्भावना नरहेको बताउँदै आएका छन्। पोखरेलकै भनाइलाई आधार मान्दा पनि मंसिरमा हुने १० औँ महाधिवेशनबाट ओलीले नेतृत्व हस्तान्तरण गर्ने सम्भावना कम छ।
पोखरेलले केही दिनअघि ओलीकै नेतृत्वमा एमाले अर्को एउटा निर्वाचन र पार्टीको महाधिवेशनसम्म जाने बताएका थिए। पोखरेलले यसो भनेको तीन दिन नबित्दै ओलीले नेतृत्व हस्तान्तरणबारे उपयुक्त समयमा निर्णय लिने बताए।
यस्तै माधव नेपालले एमाले छाडेपछि अबको महाधिवेशनसम्मलाई ओलीले नेताहरूसँगको सम्बन्धलाई पनि समन्वयकारी बनाउनुपर्ने चुनौती छ। नेपाललाई छाडेर आएका नेताहरु, आफूसँगैका नेता र माओवादीबाट आएका नेताहरुलाई पनि मिलाएर अघि बढाउने चुनौती ओलीसँग छ।
१० बुँदे सहमतिलाई सहज रुपमा कार्यान्वयन गरेको अवस्थामा तीनै समूहका नेताबीच उनी समन्वयकारी भूमिका रहन सक्छन्। ओलीका लागि अब आफ्नो पक्षका सँगै नेपाललाई छाडेका र माओवादीबाट आएका नेताहरुलाई पनि पार्टी जिम्मेवारी दिएर व्यवस्थापन गर्नुपर्ने चुनौती छ। नेपालखबरबाट