
टोकियो । विश्वभर देखा परेको चिप अभावलाई दृष्टिगत गरेर जापानी अटो निर्माता कम्पनी टोयोटाले आगामी महीना उत्पादन कटौती गर्न लागेको छ ।
कम्पनीले सेप्टेम्बरमा उत्पादन ४० प्रतिशतले कमी गर्न लागेको भन्दै निक्केई दैनिकले समाचार छापेको छ । कम्पनीले सेप्टेब्रमा ५ लाख थान सवारी साधन उत्पादन गर्ने योजना बनाएको छ । यसअघि भने कम्पनीले सो अवधिमा ९ लाख थान सवारी साधन उत्पादन गर्ने योजना बनाएको थियो ।
आधुनिक कारको इलेक्ट्रोनिक्स प्रणालीका लागि माइक्रोचिप्स अत्यावश्यक हुन्छ । तर गत वर्षयता विश्वभर चिपको आपूर्ति न्यून छ । हालैका दिन कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्ट फैलिँदा पनि कम्पनीको चिप खरिद प्रभावित भएको छ ।
यसबारे कम्पनीले भने कुनै टिप्पणी दिइसकेको छैन । चिप अभावका कारण टोयोटाका प्रतिस्पर्धी कम्पनीहरु पनि उत्पादन सुस्त पार्न वा अस्थायी रुपमा रोक्न बाध्य भएका छन् । सेप्टेम्बरदेखि टोयोटाले पनि उत्तर अमेरिका, चीन र यूरोपमा उत्पादन घटाउनेछ ।
चिप अभाव र संक्रमणसँग सम्बन्धित आपूर्ति शृङ्खलामा देखिएको समस्याका कारण कम्पनीले यस अघि नै कयौं पल्ट उत्पादन स्थगित गरेको थियो । एजेन्सी