अफगानिस्तानमा महिला पत्रकारलाई अफिस जान रोक : भनियो, ‘अब नियम फेरियो’

-


     नेपालय न्युज    
     भाद्र ४ गते २०७८


‘मेरो नाम शबनम डवरान हो । म अफगानिस्तानमा पछिल्लो ६ वर्षदेखि पत्रकारिता गर्दै आएकी छु । म अफगानिस्तानको सरकारी मिडिया आरटीएमा काम गर्छु । जब तालिबानले कब्जा लियो तब मैले हार मानिनँ । म अफिस गएँ तर दुर्भाग्यले मलाई अफिस जान दिइएन । मैले आफ्नो परिचय पत्र देखाएँ । तर मलाई अब मैले जागिर खान नपाउने बताइयो किनभने नियम फेरिएको छ रे । जसले मेरो कुरा सुनिरहेका छन्, उनीहरुले कृपया मद्दत गर्नुहोस् । हाम्रो जीवन खतरामा छ ।’

अफगानिस्तानकी एक कार्यक्रम प्रस्तोता शबनमको यो भिडियो सोसल मिडियामा सेयर भइरहेको छ । यो भिडियोमा उनले यही कुरा गरिरहेकी छिन् । समाचार एजेन्सी एएफपीले यो भिडियो जारी गरेको छ ।

तालिबानले काबुलमा कब्जा गरेपछि पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा तालिबानले भनेको थियो, ‘महिलालाई शरिया कानून अनुसार काम गर्ने स्वतन्त्रता हुनेछ ।’

यद्यपि, अब अफगान सरकारी च्यानलबाट एक महिला पत्रकारलाई हटाइएको कुरा सार्वजनिक भएको छ । यसबारे तालिबानको तर्फबाट हालसम्म कुनै जानकारी दिइएको छैन ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com