
कृष्ण के सी अमेरिका,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनअरएनए एनसीसी) अमेरिकाबाट संघको १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको लागि २५% प्रतिनिधि चयनको लागि रोकिएको निर्वाचन अगष्ट १३, २०२१ मा हुने भएको छ।
२०२१-२०२३ कार्यकालको लागि संसारमा सबै भन्दा पहिला निर्वाचन भएको एनअरएनए एनसीसी अमेरिकाको निर्वाचनलाइ संसारले पारदर्शिताको उदाहरणको रुपमा लिए। उसो त निर्वाचन भएर बुद्धि सुबेदीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले जुलाई ३, २०२१ देखि कार्यभर पनि लिएको छ। २०१३ देखि नै अनलाइन निर्वाचन गराउँदै आएको एनअरएनए एनसीसी अमेरिकाबाट यो पटक विश्वोका धेरै देशले सिके।
यो पटक एनअरएनए आइसीसीको बिधानको ब्यबस्था अनुसार ६५% प्रतिनिधि प्राथमिकताका आधारमा चयन हुने ब्यबस्था छ। त्यसमा संघका राष्ट्रिय र अन्तराष्ट्रिय समन्वय परिषदका वर्तमान, निवर्तमान, इलेक्ट, पूर्वकार्यसमिति र मानार्थ परिषद सदस्य इत्यादिले पाउने ब्यबस्था छ।
१०% प्रतिनिधि चाहिं एनसीसी अध्यक्षले चयन गरेर पठाउने ब्यबस्था छ। त्यसैगरि २५% प्रतिनिधि भने कुनै एउटा निर्वाचन बिधि अपनाएर आउने ब्यबस्था छ। निर्वाचन भन्नाले ब्यालेट मात्र होइन सहमति या कुनै चयन बिधि भन्ने हो।
अमेरिकाबाट २५% प्रतिनिधि चयनको निर्वाचन गर्ने अन्तिम दिनमा पुगेर संघका अन्तराष्ट्रिय अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले पत्रद्वारा रोकिदिनु भएको थियो। हाल निर्वाचन पुन:पुरागर्नु भन्ने अर्को निर्देशन बमोजिम नै रोकिएको सो निर्वाचन हुन सम्पन्न हुन् लागेको हो।
अमेरिकाबाट प्रतिनिधि हुने जम्मा प्रतिनिधि मध्ये २५% भन्नाले ४७ जना हुन आउँदछन। त्यसका लागि अमेरिकाका ५० राज्य मध्ये बनेका २९ राज्य च्याप्टरबाट एनअरएनए एनसीसी अमेरिकाको बिधान अनुसार च्याप्टर अध्यक्ष वा बरियताका आधारमा दोश्रो, तेश्रो या बैठकले मनोनयन गरेर पठाएको च्याप्टरका निर्वाचित व्यक्तिलाइ निर्वाचित मानेर आएको २९ जना हुनेछन। बाँकी १८ जना प्रतिनिधिको लागि हुन लागेको निर्वाचनको लागि यस पहिला नै मनोनयन भएर तयारी अवस्थामा रहेको छ।
एनअरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले आज अगष्ट ११, २०२१ मा पठाएको सूचना अनुसार निर्वाचन अनलाइन बिधिमा यहि अगष्ट १३, २०२१ मा हुनेछ। बिहान ८:०० बजे देखि साँझ ५:०० बजे (पूर्वीय समय अनुसार) सम्म हुने मतदानबाट आएको नतिजा तुरुन्तै संघको वेबसाइटमा पब्लिक गरिने कुरा एनअरएनए एनसीसी अमेरिका निर्वाचन आयोगका प्रमुख आयुक्त विश्व बरालले जानकारी दिनुभयो।